एमालेको दोस्रो विधान महाधिवेशन आज सकिँदै, अध्यक्ष ओलीले जवाफ दिने

काठमाडौं, २२ भदौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आज सकिँदै छ ।

महाधिवेशनमा उठेका जिज्ञासाको प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने र विभिन्न प्रतिवेदनहरु पारित गर्दै समापन हुने नेकपा एमालेले जनाएको छ ।

महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि १० समूह बनाएर छलफल गरिएको थियो । शनिबार छलफल सकिएको र आज बिहान ८ बजेदेखि सुरु बन्दसत्रमा छलफलको निष्कर्ष सुनाउने क्रम जारी रहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

त्यसक्रममा उठेका जिज्ञासा र प्रश्नको जवाफ अध्यक्ष ओलीले दिनेछन् । त्यसपछि समसामयिक प्रस्ताव पारित गरिने छ । आज नै केन्द्रीय निर्वाचन आयोगको निर्वाचन समेत हुनेछ । त्यसपछि महाधिवेशन समापन हुने एमाले प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।

दोस्रो विधान महाधिवेशनको समसामयिक राजनीतिक प्रस्ताव तयार गर्न सचिव योगेश भट्टराईको संयोजकत्वमा ७ सदस्यीय समिति बनाइएको छ । समितिले मुलुकको समसामयिक राजनीतिक, आर्थिक, सामाजिक तथा जनजीविकाको चासोबारे महाधिवेशनको धारणा तय गर्ने छ ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित भदौ २० गतेदेखि एमालेको दोस्रो विधान महाधिवेशन सुरु भएको थियो ।

विधान महाधिवेशनमा देशभरिका २ हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी २ हजार ३४१ जनाको सहभागिता छ । यो विधान महाधिवेशनले पाटीृलाई जविन्त बनाउन र आगामी महाधिवेशनको लागि एजेण्डा तय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्