आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै, नागरिकलाई झन्झट र दु: दिने कार्य सह्य हुँदैन: प्रधानमन्त्री

काठमाडौं, २२ भदौं । निजामती सेवाका कर्मचारीहरुले आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी ‘निजामती सेवा दिवस’ मनाउँदै छन् । देशको स्थायी सरकारको रुपमा लिने कर्मचारीहरुले देश भरको प्रशासनीक काम समालेका हुन्छन् ।

निजामती सेवासम्बन्धी ऐन पहिलोपटक जारी भएको विक्रम संवत् २०१२ भदौ २२ गतेको स्मरण गर्दै २०६१ सालदेखि हरेक वर्ष भदौ २२ गते निजामती सेवा दिवस मनाउने गरिन्छ ।

दिवसको अवसरमा आज बिहान सिंहदरबारस्थित पुरानो संसद भवन अगाडिको प्रांगणबाट प्रभातफेरी निकाल्ने कार्यक्रम छ । बिहान ७ बजेर १५ मिनेटमा सुरु हुने प्रभातफेरि भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा पुगेर मूल समारोहमा परिणत हुने छ ।

सो समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट अघिल्लो वर्ष घोषणा गरिएको उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गर्ने कार्यक्रम छ ।

गत वर्ष घोषणा गरिएका उत्कृष्ट निजामती सेवा पुरस्कारबाट १० जनालाई र निजामती सेवा पुरस्कारबाट ३० जनालाई आज सम्मान गर्न लागिएको हो ।

उत्कृष्ट निजामती सेवा पुरस्कार १ लाख रुपैयाँ राशिको र निजामती सेवा पुरस्कार ५० हजार रुपैयाँ राशिको छ ।

यस वर्ष उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कारका लागि छनोट भएका कर्मचारीहरुले आगामी वर्षको निजामती सेवा दिवस मूल समारोहमा पुरस्कार तथा सम्मान पाउने छन् । यसले गर्दा कर्मचारीलाई कामका लागि प्रोत्सहान हुने छ ।

आज निजामती सेवा दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना व्यक्त गरेका छन् ।
उनले निजामती सेवाको काममै सरकारको प्रभावकारिता निर्भर हुने बताउँदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘निजामती सेवा सरकारलाई जनता समक्ष पुयाउने मुख्य जिम्मेवारी हो । सरकारका नीति तथा कार्यक्रमलाई जनस्तरमा कार्यान्वयन गर्ने निजामती सेवाको काममै सरकारको प्रभावकारिता निर्भर हुन्छ । बदलिंदो विश्व परिवेश, नयाँ प्रविधि र जनअपेक्षा बमोजिम निजामती सेवाले आफूलाई रुपान्तरण गर्न जरुरी छ ।’

 

शुभकामना सन्देशमा थप लेखिएको छ, ‘सामान्य कामका लागि पनि धेरै प्रक्रिया देखाउने र काम पन्छाउने प्रवृत्तिमा कर्मचारीले परिवर्तन ल्याउन आवश्यक छ । नागरिक सेवा खोज्दै होइन, सेवाले नागरिक खोज्ने बेला आएको छ । टेबल र कुर्चीबाट मात्र सेवा होइन, प्रविधिबाट विस्तार हुनुपर्ने बेला आएको छ ।’

प्रतिक्रिया दिनुहोस्