निजामती सेवा दिवसको सन्दर्भ पारेर वृक्षरोपण सम्पन्न
काठमाडौँ, २० भदौँ। निजामती दिवस मनाउने क्रममा निजामती सेवा दिवसको सन्दर्भ पारेर आज वृक्षरोपण गरिएको छ ।
वृक्षरोपण वन तथा भू-संरक्षण विभागद्वारा कीर्तिपुरस्थित बागबानी केन्द्रमा आयोजित कार्यक्रममा विभिन्न बिरुवा तथा फलफूलका प्रजाति रोपण गरिएको हो।
मन्त्रिपरिषद् कार्यलाय सचिव राजकुमार श्रेष्ठले वृक्षरोपण कार्यको शुभारम्भ गर्दै भूक्षय नियन्त्रणमा वृक्षारोपण महत्त्वपूर्ण हुने तथा यस क्षेत्रमा हरियाली कायम गर्न सहयोग पुग्ने बताउनुभयो।
वन मन्त्रालयका निमित्त सचिव शिवकुमार वाग्लेले निजामती सेवा दिवस मूल समारोह अन्तर्गत पर्ने वृक्षरोपण वन तथा भू-संरक्षण विभागले गर्दै आएको जानकारी दिनुभयो।
विभाग महानिर्देशक धिरेन्द्र कुमार प्रधानले विभिन्न कारणले हुने भूक्षय नियन्त्रण तथा वातावरण संरक्षणका लागि वन जंगल जोगाउनुपर्नेमा जोड दिँदै वृक्षरोपणको महत्व उल्लेख गर्नुभयो।
वागवानी केन्द्रका प्रमुख दिनेश सापकोटाले विभिन्न प्रकारका विरुवा बिक्री गरेर केन्द्रले एक करोड दुई लाख राजस्व सङ्कलन गरेको बताउँदै फलफूलको राष्ट्रिय स्रोत केन्द्रका रूपमा समसितोष्ण र सुन्तला जातमा काम गर्ने, किसानलाई तालिम, प्रविधि उपलब्ध गराउन सहयोग पुर्याएको जानकारी दिनुभयो।
गृहमन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, कृषि तथा पशुपंछी विकास मन्त्रालय सचिव गोविन्दप्रसाद शर्मा, श्रम सचिव कृष्णहरि पुस्कर, विभिन्न मन्त्रालयका सहसचिव तथा महानिर्देशक एवं निजामती कर्मचारीको सहभागिता रहेको कार्यक्रममा वागवानी परिसरमा एकसय वटा विरुवा रोपिएको थियो ।
विसं २०१३ भदौ २२ गते पहिलो निजामती सेवा ऐन जारी गरिएका दिनको सम्झनामा २०६१ सालदेखि दिवस मनाउन थालिएको हो । २२ औँ निजामती सेवा दिवस मनाउने क्रममा उक्त कार्यक्रम गरिएको हो।















प्रतिक्रिया दिनुहोस्