विधान महाधिवेशनको पूर्वसन्ध्यामा च्यासलमा एमाले सचिवालय बैठक

काठमाडौं, १९ भदौ। दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा एमाले केन्द्रीय सचिवालय बैठक बसिरहेको छ ।

च्यासलमा जारी बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनहरूलाई अन्तिम रूप दिन आज बैठकको आयोजना गरिएको हो । आजको बैठकमा विधान महाधिवेशनमा अध्यक्ष ओलीको तर्फबाट प्रस्तु हुने राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गर्ने विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलले प्रस्तुत गर्ने साँगठनिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ ।

‘तीनवटै प्रतिवेदनका प्रस्तुतकर्ताले प्रतिवेदनको व्याख्या गर्ने र सचिवालयले पास गरेको प्रतिवेदन भोलि विधान महाधिवेशनमा पेश हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

सँगै महाविधेशनको तयारी, व्यवस्थापन र उपसमितिले गरेका कामको पनि ब्रिफिङ गर्ने एजेण्डा छ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नगर्ने तथा ७० वर्षे उमेर हद र २ वर्षे कार्यकाल हटाउने निर्णयमा असहमति जनाउँदै उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीद्वारा प्रस्तुत फरक मत पनि आज टुंग्याउने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्