निजामती सेवा विधेयकको गाँठो फुक्यो

काठमाडौं, १७ भदौ। सरकार अडानबाट पछि हटेपछि संघीय निजामती सेवा विधेयकमा कर्मचारीको अवकाश सम्बन्धी व्यवस्थामा गाँठो फुकेको छ ।

विधेयकमा निजामती कर्मचारीको अवकाशको उमेर हदसम्वन्धमा प्रतिनिधि सभाबाट पास भएको प्रतिवेदनमा भएकै व्यवस्था कायम राख्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सहमत भएपछि विवाद टुंगिएको हो ।

प्रतिनिधि सभाले विधेयक ऐनमा रुपान्तरित भएको वर्ष ५८ वर्षमा अवकाश हुने, अर्को वर्ष ५९ वर्ष र त्यसपछिको वर्ष ६० वर्षमा अवकाशको उमेरहद लागू हुने प्रावधान पास गरेर पठाएको थियो । यसलाई सदर गरेर जाने निर्णय मन्त्री न्यौपानेको अभिव्यक्तिसँगै निजामती विधेयकमा परेको गाँठो फुकेको छ ।

प्रधानमन्त्री देशमा नभएको र आज विधेयक पास गर्नैपर्ने दबाबमा रहेकाले सर्वसम्मत पास गरेर जान चाहेकाले प्रतिनिधि सभाको प्रतिवेदन सदर गरेर जान तयार रहेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले बताइन् ।

उनले भनिन्, ‘प्रतिनिधि सभाले जसरी पास गरेर पठाएको छ । प्रतिनिधि सभाको प्रतिवेदन आत्मसाथ गरेर जाऔं ।’

समिति बैठकमा उनले थप भनिन्, ‘हिजो आजसम्मको समय मागेको थिएँ । प्रधानमन्त्री देशमा हुनुहुन्न । बहुमत–अल्पमतको टुंगो लगाउने पक्षमा छैन । अहिलेलाई जसरी प्रतिवेदन पठाएको छ । त्यसलाई नै आतत्मसाथ गरेर जाऔं ।’

उनले यसमा आफ्नो व्यक्तिगत स्वार्थ नभएको प्रष्टीकरण पनि दिइन् ।

उनले भनिन्, ‘मैले राखेको प्रस्तावमा व्यक्तिगत स्वार्थ थिएन । सर्वसम्मत गरेर जाने राष्ट्रियसभाको ट्रेन्ड भत्किन नदिऔं, सर्वसम्मत गरेर जाऔं ।’

प्रतिक्रिया दिनुहोस्