विद्या भण्डारीको सदस्यता रोक्न मिल्दैन भन्दै विधान महाधिवेशनमा फरक मत राख्ने एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेको घोषणा
काठमाडौं, १६ भदौ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्या भण्डारीबारे आफूहरूको फरक मत अपानीमा समावेश नभएपछि पार्टीको छलफलको विषय बनाउन माग गरेर निवेदन दिएको बताएका छन् ।
सेन्टर फर पब्लिक पोलिसि रिसर्चद्वारा राजधानीमा आयोजित ‘एमालेमा आन्तरिक लोकतन्त्र’ विषयक अन्तरसंवादमा उनले विधान महाधिवेशनमा यो विषय छलफलमा लाने बताए ।
उनले भने, ‘विधान महाधिवेशनमा आउने प्रस्तावहरूमा पनि विमतिलाई समेटेर नगए फरक मत लेख्ने कुरा गरेका छौँ, राख्छौँ । कोही व्यक्तिलाई पार्टीमा काम गर्नको लागि संविधानले निषेध गरेको छैन ।’
उनले कोही व्यक्ति पार्टी सदस्य हुँदैमा अध्यक्ष नहुने, सदस्य हुन कसैलाई रोक्न नमिल्ने भन्दै विधान महाधिवेशनमा कुरा उठ्ने बताए ।
पाण्डेले आफूहरूले पार्टीमा चलाएको सार्थक बहसलाई पार्टी फुटाउन गरेको भन्दै हल्ला चलाइएको भन्दै यसले विभाजित नहुने प्रष्ट्याए ।
उनले थपे, ‘यो लडाइँ केही तीतो बन्नसक्छ, केही समय लिनसक्छ । केही अप्ठ्यारो अवस्था आउनसक्छ । तर, निष्कर्षमा पुग्छ भन्नेमा नै छौँ । हामी पार्टीमा स्थापित मूल्य र मान्यताभित्र बसेर यो बहसलाई निष्कर्षमा पुर्याउँछौं ।’















प्रतिक्रिया दिनुहोस्