दूध उत्पादक किसानहरु पनि आन्दोलित आन्दोलनमा, डीडीसीको कार्यालयमा धर्ना

काठमाडौं, १५ भदौ । किसानहरु एकपछि अर्काै आन्दोलनमा आएका छन् । उखु किसानहरु सडक आन्दोलनमा उत्रिएका बेला दूध उत्पादक किसानहरु पनि आन्दोलनमा आएका छन् ।

लामो समयसम्म दूधको मूल्य भुक्तानी नपाएको भन्दै किसानहरु आन्दोलनमा उत्रिएका हुन् । यसैक्रममा उनीहरुले आज काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी) को कार्यालयमा धर्ना दिने कार्यक्रम छ ।

आज मध्याह्न १२ बजे दुग्ध विकास संस्थानको कार्यालयमा धर्ना दिने अखिल नेपाल किसान महासंघका प्रचार तथा प्रकाशन विभाग प्रमुख डा.भेषराज अधिकारीले जानकारी दिए ।

दुग्ध विकास संस्थान लगायतका सम्बन्धित निकायलाई दूधको मूल्य भुक्तानीका बारेमा पटक–पटक ध्यानाकर्षण गराउँदै आएको तर त्यसको सम्बोधन नभएकाले धर्ना दिन लागेको उनले बताए ।

‘गत वर्षदेखिकै भुक्तानी नपाउँदा किसानहरूले ठूलो पीडा र आर्थिक संकट व्यहोर्न बाध्य हुनुपरेको छ’ डा। अधिकारीले भने, ‘दूधको बक्यौता रकम भुक्तानी नगरेकाले किसानहरूलाई आफ्नो परिवार पालनपोषण, छोराछोरीको शिक्षा–दीक्षा तथा पशुपालनमा कठिनाइ भएको छ ।’

यसै सन्दर्भमा, किसानहरूको पीडा, समस्या र मागहरूलाई उजागर गर्दै आफ्ना जायज मागहरू पूरा गराउन दबाब दिने उद्देश्यले धर्ना कार्यक्रम राखिएको उनको भनाइ छ ।

उनका अनुसार धर्ना कार्यक्रम करिब एक घण्टा चल्ने छ । धर्ना कार्यक्रममा काभ्रे, नुवाकोट, धादिङ लगायत काठमाडौं उपत्यका र आसपासका किसानहरुको सहभागिता रहने छ ।

प्रतिक्रिया दिनुहोस्