प्रधानमन्त्री ओली चीनको तिआन्जिन प्रस्थान

काठमाडौं, १४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार दिउँसो हिमालय एयरलाइन्सको विशेष कूटनीतिक उडानमार्फत जनवादी गणतन्त्र चीनको तिआन्जिन प्रस्थान गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली चीन पुगेका छन् । शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन आज चीनको थियानजिन शहरमा पुगेका हुन् ।

मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्थानीय समयअनुसार दिउँसो ३ः१५ बजे हिमालय एयरलाइन्सनको विशेष विमानमार्फत थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

उनलाई चीन सरकारका उच्चाधिकारी र नेपालका लागि चीनका राजदूत डा. कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत चेन सोङलगायतले स्वागत गरे ।

सो अवसरमा प्रधानमन्त्री ओलीले शिखर सम्मेलनमा सहभागी केही विश्व नेताहरूसँग समेत भेटवार्ता गर्नेछन् । त्यसैगरी, प्रधानमन्त्री ओलीले सेप्टेम्बर २ मा बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्नेछन् ।

शिखर सम्मेलनका क्रममा विभिन्न मित्रराष्ट्रहरूका राष्ट्र तथा सरकार प्रमुखहरूसँग प्रधानमन्त्री ओलीले द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । ती भेटघाटमा नेपाल र ती मुलुकबीचका द्विपक्षीय एवं अन्य प्राथमिकताका विषयमा छलफल हुनेछ ।

हालसम्म रूसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता तय भएको छ ।

भ्रमण टोलीमा प्रधानमन्त्री ओलीसँग उनका धर्मपत्नी श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, नेकपा एमालेका सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारीहरू रहने मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्कनेछन् ।

प्रतिक्रिया दिनुहोस्