नाडा अटो शो २०२५ भव्यताकासाथ सम्पन्न

काठमाडौं,९ भाद्र । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आयोजना गरेको १७औं संस्करणको नाडा अटो शो २०२५ भव्यताकासाथ सम्पन्न भएको छ । काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न समापन कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल प्रमुख अतिथि रहेका थिए । यसअघि शो को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

काठमाडौंको भृकुटीमण्डपमा ६ दिनसम्म चलेको प्रदर्शनीमा १ लाख ७६ हजार ७८९ दर्शकले अवलोकन गरेका थिए, यो प्रदर्शनीमा अहिलेसम्मकै ऐतिहासिक उपस्थिति हो । व्यवस्थित रुपमा सजिएका स्टल, नवीनतम अन्तर्राष्ट्रिय मोडेलका सवारी साधन, उड्ने कार, रोबोटिक म्यान र कुकुर, तथा थुप्रै विद्युतिय सवारी साधनले दर्शकलाई आकर्षित गरेको थियो। अटो व्यवसाय सुस्ताइरहेको अवस्थामा यो प्रदर्शनीले बजारमा मात्र होइन, अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा आयोजकले व्यक्त गरेका छन्।

नाडाले प्रदर्शनी अवधिभर विभिन्न अन्तरक्रिया कार्यक्रमहरू आयोजना गरेको थियो । पहिलो दिन इण्टरनेशनल अटो ट्रेड डायलग, दोस्रो दिन नेपालमा इभि अपनत्व, तेस्रो दिन कर्जा नीति र अटो बजारको निकास, चौथो दिन फ्लाइङ कार टेक्नोलोजी तथा युथ मोबिलिटी एण्ड नेशनल ड्रीम, पाँचौं दिन सडक र यातायात, र समापन दिन मेड इन नेपाल विषयमा बहस तथा छलफल भएका थिए। यी कार्यक्रममा सरकारका सचिवदेखि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक, पूर्व गभर्नर, ट्राफिक प्रहरी प्रमुख र निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

त्यस्तै, यस वर्ष उत्कृष्ट चारपाङ्ग्रे स्टलको पुरस्कार एमएडब्लु अटो कर्प ले, दुईपाङ्ग्रे स्टलको पुरस्कार रोयल इन्फिल्ड अल्फा अटोमोटिभ ले, लाइट कमर्सियल स्टलको पुरस्कार अद्धेत इभि ले र उत्कृष्ट सपोर्टिङ स्टलको पुरस्कार हिट्को प्रा.लि. ले जितेका छन्। बैंक तथा बीमा क्षेत्रमा ग्लोबल आईएमई बैंक उत्कृष्ट घोषित भएको छ ।

प्रदर्शनीमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वगभर्नर दीपेन्द्र क्षेत्री, उच्च अधिकारीहरू, संघ–संस्थाका प्रतिनिधि लगायतको सहभागिता थियो । अन्तर्राष्ट्रिय स्तरबाट पनि भारतीय अटो उद्योग प्रतिनिधिहरूको उपस्थिति रह्यो ।

नाडा अटो शो २०२५ लाई सफल बनाउन योगदान पुर्याउने सबैलाई नाडाका अध्यक्ष करण चौधरीले धन्यवाद व्यक्त गर्दै यसले अटो उद्योगलाई चलायमान बनाउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्