भियतनामकी उपराष्ट्रपति सुआनले आज पनि उच्चस्तरीय भेटवार्ता गर्दै
काठमाडौं, ८ भदौ । हिजोदेखि नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थी आन सुआनले आज पनि उच्चस्तरीय भेटवार्ता गर्दैछिन् ।
उनले आज उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । सो भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उनी नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औ वार्षिकोत्सव समारोहमा पनि सहभागी हुने कार्यक्रम छ ।
उपराष्ट्रपति यादवको औपचारिक निमन्त्रणामा उनी शनिबार नेपाल भ्रमणमा आएकी थिइन् । भियतनामबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।
शनिबार नेपाल आएकै दिन उनले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेटवार्ता गरेकी थिइन् ।
मन्त्री राणाले भियतनामबाट पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडान गर्न प्रस्ताव राखेकी थिइन् । यसो हुनसके भियतनामबाट नेपाल भित्रिने पर्यटकहरुको संख्या बढाउन सकिने नेपालको विश्वास छ ।
परराष्ट्र मन्त्री राणाले राखेको यो प्रस्तावमा आज उपराष्ट्रपति यादव र प्रधानमन्त्री ओलीसँगको भेटमा विस्तृत छलफल हुने बताइएको छ ।
उपराष्ट्रपति सुआनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने र पाटन दरबार स्क्वायर, स्वयंभूनाथ स्तूपलगायतका विश्वसम्पादा सूचिका स्थान भ्रमण गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि उनी स्वदेश फर्किनेछिन् । यसरी भियतनामकी उपराष्ट्रपति सुआनले औपचारिक भ्रमण्म पूरा हुनेछ ।















प्रतिक्रिया दिनुहोस्