कलंकी होटल एण्ड गेष्ट हाउस एशोसियसनको १३ औं साधारण सभा सम्पन्न

काठमाडौं, ४ भदौ । कलंकी होटल एण्ड गेष्ट हाउस एशोसियसनको १३ औं साधारण सभा सम्पन्न गरिएको छ।
रमेश कुमार बरालको अध्यक्षता तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सभा सम्पन्न गरिएको हो।

मन्त्री पाण्डेले होटल व्यवसायीका समस्या समाधानका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै दर्ता प्रक्रियादेखि अन्य विभिन्न समस्या भएकाले व्यवसायीको सुझाव अनुसार समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो।

एशोसिएसनका अध्यक्ष रमेश बरालले सो व्यवसायलाई थप व्यवस्थित र उपभोक्ताको पक्षमा सेवामुखी बनाउने प्रतिबद्धता व्यक्त गर्दै होटल तथा गेस्ट हाउस व्यवसायीले व्यवसाय दर्ता प्रक्रियालाई सहज बनाइदिन माग गर्नुभयो। उहाँले अनुगमनका नाममा होटल तथा गेस्ट हाउस व्यवसायीमाथि अनावश्यक दुःख दिंदा व्यवसायीको आत्मसम्मानमा समेत ठेस पुगेको विचार व्यक्त गर्नुभयो।

होटल तथा पर्यटन व्यवसायी सङ्घ बागमती प्रदेशका पूर्व महासचिव एवं पर्यटन उद्यमी दामोदर नेपालले
कोरोना भाइरसदेखि अन्य विभिन्न समस्याले होटल तथा गेष्टहाउस व्यवसायी समस्यामा परेका र त्यसैमाथि पर्यटन ऐन २०३५ तथा पर्यटन विभागमा होटल दर्ता गर्न पनि समस्या भएकाले त्यसको चाँडो समाधानका लागि पहल गरिदिन माग गर्नुभयो। उहाँले मुलुकमा जतिसक्दो धेरै पर्यटक भित्र्याउन सके यहाँको पर्यटन क्षेत्रको प्रचारप्रसार तथा विकास हुने बताउँदै त्यसका लागि व्यवसायी र सरकारबीच समन्वय तथा सहयोग आवश्यक रहेको पर्यटक तथा नेपाली नागरिककाबीचमा भाडामा पनि एकरुपता कायम गर्नुपर्नेमा जोड दिनुभयो।

महासचिव राजु घिमिरेले आन्तरिक तथा बाह्य पर्यटक वृद्धि गर्नेगरी पर्यटन क्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने विचार व्यक्त गर्दै होटेल तथा गेष्टहाउस सञ्चालकको महत्वपूर्ण भूमिका रहेकाले यस क्षेत्रको व्यवसायीलाई परेका समस्या समाधान गर्न सरकार प्रतिबद्ध हुनुपर्ने बताउनुभयो।

कोषाध्यक्ष तुलबहादुर श्रेष्ठले कोभिडपछि समग्र मुलुकको अर्थतन्त्रमा मन्दी आएकाले त्यसको असरले आफूहरूको व्यवसाय चुनौतीपूर्ण बनेको गुनासो गर्नुभयो। पर्यटकलाई आकर्षित गर्न समाजलाई समेत सचेत गराउन आवश्यक रहेको उहाँको भनाइ थियो।
व्यवसायीले अनावश्यक दु:ख झेल्न बाध्य भएकाले स्थानीय तहदेखि केन्द्र सरकारका निकायसम्म दर्ता, कर प्रकृयालगायतलाई व्यवस्थित गरी व्यवसाय गर्ने वातावरण तीनै तहका सरकारले बनाउनुपर्ने, उद्यम-व्यवसाय गर्नेलाई सम्मानको नजरले हेर्नुपर्ने अन्य सहभागी वक्ताहरुले सुझाव दिनुभयो।

उक्त एशोसिएसनमा स्वयंम्भूदेखि बल्खुसम्म सात वटा ईकाई रहेको जनाइएको छ। कृष्णराज

प्रतिक्रिया दिनुहोस्