विश्व शान्तिका नायक बन्न खोज्दै ट्रम्प, अहिलेसम्म रोके १२ देशबीचको युद्ध, के रुस युक्रेनमा सफल होलान त ?
काठमाडौं, ४ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस युक्रेन युद्ध अन्त्य गर्ने प्रयास गरिरहेका छन् । त्यसमा उनी सफल होलान् कि नहोलान केही दिनमा थाहा हुनेछ ।
तर, गत जनवरी २० मा आफ्नो दोस्रो कार्यकाल शुरु गरे यता ट्रम्पले अहिलेसम्म १२ वटा देश (अर्थात ६ वटा युद्ध) रोकेर आफूलाई ‘शान्तिको नायक’ भएको प्रमाणित गर्न खोजेका हुन् । यहाँ ट्रम्पको मध्यस्ततामा अन्त्य भएका युद्धहरुको बारेमा सर्सती जानकारी दिइएको छ ।
इजरायल र इरान
जुन १३मा इजरायलले इरानमाथि आक्रमण गरेपछि दुई देशबीच युद्ध शुरु भएको थियो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आक्रमण अघि आफूलाई जानकारी गराएको ट्रम्प आफैले सार्वजनिक गरे ।
आफनो सहमतिमा शुरु भएको युद्ध रोक्न ट्रम्प अघि सरे । युद्ध शुरु भएको दशौं दिनको दिन उनले सामाजिक संजालमार्फत दुई देशबीच युद्धविराम सहमति भएको र केही घण्टापछि त्यो लागू हुने घोषणा गरे । नभन्दै उनले त्यस्तो घोषणा गरेको पर्सीपल्ट अर्थात युद्ध शुरु भएको १२ औं दिनको दिन इजरायल र इरान दुवै देशले युद्ध विरामको घोषणा गरे ।
पाकिस्तान र भारत
दक्षिण एसियाका दुई आणविक शक्तिहरू बीच वर्षौंदेखि तनाव रहेको छ । गत मे महिनामा २६ जनाको मृत्यु हुने गरि पहलगाममा पर्यटकहरूमाथि भएको आक्रमणपछि भारत र पाकिस्तान बीचको तनावले युद्धको रुप लियो ।
उनीहरुबीच ४ दिन भिषण युद्ध भयो । तर, चौथो दिनको दिन ट्रम्पले सामाजिक संजालमार्फत भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमति भएको घोषणा गरे । उनले घोषणा गरे अनुसार दुवै देशबीच युद्धविराम भयो पनि ।
युद्धविराम गराएकोमा पाकिस्तानले ट्रम्पलाई धन्यवाद दियो र उनलाई नोबेल शान्ति पुरस्कारको लागि सिफारिस गर्यो।
रुवाण्डा र कंगो
सन् २०२५ को जुनमा रुवाण्डा र कंगोबीच दशकौंदेखि चलिरहेको द्धन्द अन्त्य गर्न ट्रम्पकै उपस्थितिमा वाशिंगटनमा शान्ति सम्झौतामा हस्ताक्षर गरियो । तर दुवै देशले यो सम्झौताको उल्लंघन गरेको आरोप एक अर्कोप्रति लगाउँदै आइरहेका छन् । विश्लेषकहरुले पनि ती दुई देशबीच पूर्णरुपमा युद्ध विराम कार्यान्वयन नभएको र अहिले पनि बेला बेलामा एक अर्को विरुद्ध आक्रमण गर्ने गरेको बताएका छन् ।
थाइल्याण्ड र कम्बोडिया
करिब एक महिना अघि जुलाईमा थाइल्याण्ड र कम्बोडियाबीच सिमा क्षेत्रमा लडाई भयो । केही दिनको लडाईपछि ट्रम्पले थाइल्याण्ड र कम्बोडियाले लडाई बन्द नगरे दुवै देशले धान्नै नसक्ने गरि कर लगाउने धम्की दिंदै युद्ध रोक्नको लागि दबाब दिए । त्यसको केही दिनपछि अगस्ट ७ मा, थाइल्याण्ड र कम्बोडियाबीच युद्ध विराम सम्झौता भयो ।
आर्मेनिया र अजरबैजान
दक्षिण अमेरिकी देशहरु आर्मेनिया र अजरबैजान बीच झण्डै ४ दशकदेखि युद्ध चलिरहेको थियो । तर ट्रम्पको प्रयासपछि उनकै उपस्थितिमा अगस्ट ८ मा ह्वाइट हाउसमा युद्ध अन्त्यको घोषणा गरिएको थियो।
सर्बिया र कोसोभोबारे ट्रम्पको अनौठो दावी
जुन २७ मा ट्रम्पले सर्बिया र कोसोभो बीचको शत्रुता फैलिनबाट रोक्ने दाबी गरे । उनले ती दुई देशबीच युद्ध हुनै लागेको तर आफूले रोकेको दावी गरे, त्यो दावीमा कति सत्यता छ, त्यो अहिलेसम्म पुष्टि हुन सकेको छैन । किनकी दुवै देशले त्यसबारेमा अहिलेसम्म औपचारिक प्रतिकृया दिएका छन् ।
ती दुई देशहरू बीच लामो समयदेखि विवाद रहेको छ, तर एक अर्कोबीच लडाई भने अहिलेसम्म भएको छैन । त्यसैले अमेरिकी राष्ट्रपति ट्रम्पले हुँदै नभएको लडाई रोकेको भनेर सस्तो प्रचार गर्न खोजेको राजनीतिक विश्लेषकहरुले दावी गरेका छन् ।















प्रतिक्रिया दिनुहोस्