बहुमत छ भन्दैमा जे मन लाग्यो त्यही निर्णय गर्न पाइँदैनः कांग्रेस महामन्त्री थापा

काठमाडौं, ४ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमा आइपरेको चुनौती कांग्रेसले मात्रै समाधान गर्नसक्ने दाबी गरेका छन् ।

प्रजातन्त्र सेनानी नन्दप्रसाद शिवाकोटी स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय शक्ति भएपछि चुनावलाई महत्त्वपूर्ण मान्नु पनि स्वाभाविक रूपमा लिनुपर्ने बताए ।

उनले भने, ‘चुनाव जित्ने आकाङ्क्षा राख्नुलाई स्वाभाविक रूपमा लिनुपर्छ । तर, सबै कुरा त्यो होइन । सत्तामा पुग्ने कुरा पनि सशर्त हो निशर्त होइन। हाम्रा आधारभूत मूल्य र मान्यतासँग सम्झौता गरेर प्राप्त भएको सत्ताको कुनै अर्थ रहँदैन । कांग्रेसको आस्था, सिद्धान्त, विचार र मूल्यमान्यता छ । त्यो सँग सम्झौता गरेर सत्तामा टिकिराख्ने भन्ने कुरा हुँदैन ।’

उनले लोकतन्त्रमा संख्याको आधारमा निर्णय गर्न पाइने बताए ।

उनले थपे, ‘तर मसँग संख्या छ भनेर जे पनि गर्न पाइँदैन । संख्याको आधारमा गरिने निर्णय वैधानिक हुन्छ । संसद्मा होस् वा पार्टीमा । पार्टीभित्र निर्णय गर्दा बहुमत छ भनेर निर्णय गरेपनि आम पार्टी पंक्तिले स्वीकार्छ कि स्वीकार्दैन भन्ने कुरामा ख्याल गर्नुपर्छ । सबैले स्वीकारे मात्रै वैध हुन्छ ।’

उनले आफूहरूले गरेको निर्णय समाजले स्वीकार्छ कि स्वीकार्दैन भन्ने कुरामा पनि ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्