सुक्खा पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

काठमाडौं, १ भदौ । सुक्खा पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान माथिबाट चट्टानसहित पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार अहिले दुईव ‘जेसिभी’ प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । तर, खस्ने क्रम नरोकिएकोले अझै केही समय लाग्नेछ ।

पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् । यात्रुलाई सास्ती भोग्नु परेको छ ।

पहिरोमा परेर एक जना घाइते भएको प्रहरीले जनाएको छ । नारायणगढबाट मुग्लिङतर्फ जाँदै गर्दा बागमती प्रदेश ०६-००३ प ३८१६ नं. को स्कुटरमा माथिबाट खसेको ढुङ्गाले लागेको थियो । त्यसक्रममा स्कुटरमा रहेका चितवन रत्ननगर न।पा।३ बस्ने सन्दीप रिजाल घाइते भएका हुन् । उनको अवस्था मध्यम रहेको र उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्