रवि लामिछानेलाई नख्खु कारागार स्थान्तरण

काठमाडौं, ३१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई नख्खु कारागार स्थान्तरण गरिएको छ ।
उनलाई त्रिभुवन विमानस्थलस्थित नेपाल आयल निगमको गेटबाट निकालेर सिधै नख्खु लगिएको हो ।

कारागार व्यवस्थापन विभागले हिजो गरेको निर्णय अनुसार लामिछानेलाई आज रुपन्देही कारागारबाट सिधै नख्खु ल्याइएको हो ।

नख्खु कारागार बाहिर रविका समर्थकहरू बाक्लो संख्यामा उपस्थित भएका थिए । उनीहरूले रविको समर्थनमा नाराबाजी गरेका थिए । रविले समर्थकहरूलाई भ्यानबाटै हात हल्लाए ।
उनको स्वागतमा नख्खु कारागारमा पार्टीका सांसद, तथा नेताहरू पनि पुगेका थिए ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए ।

उनले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए । उनले गत जेठ १४ गते रुपन्देही जिल्ला अदालतमा कारागार सरुवाका लागि निवेदन दिएका थिए ।

अदालतले जेठ १६ गते अनुमति दिएको थियो । यो सँगै पार्टी नेता तथा कर्यकर्ता र आफन्तलाई भेटघाटका लागि सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस्