रुपन्देही कारागारमा रहेका रविको बैंक जमानतसम्बन्धी निवेदनको पेशी सापकोटाको इजलासमा

काठमाडौं, २६ साउन । रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा दिएको निवेदनको पेसी आजको लागि तोकिएको छ।

१० नम्बर इजलासमा न्यायाधीश नारायण सापकोटाको इजलासमा परेको छ । चैत २५ गतेदेखि उनी बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका छन् ।

चैत २२ गते उच्च अदालत तुलसीपुर बुटवल इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको थियो । त्यसअघि रुपन्देही जिल्ला अदालतबाट १ करोड धरौटीमा छुटेका थिए ।

लामिछानेले आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा यही साउन १९ गते निवेदन दिएका थिए।

उनको निवेदनमा सुनुवाइका लागि आज पेसी तोकिएको अदालत प्रशासनले जनाएको छ। लामिछाने बिगोबापतको २ करोड ७४ लाख ८४ हजार दाखिला गरिदिएको बताएका छन्।

साउन १९ पछि लगातार दुई दिन पेशी तोकिए पनि लामिछानेकै कानुन व्यवसायीले स्थगित गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्