कैलाली कारागारमा घटनालाई लिएर गृहमन्त्री लेखकले सुरक्षा प्रमुखलाई छलफलका लागि बोलाए
काठमाडौं, २४ साउन । कैलालीको धनगढीस्थित कारागारमा भइरहेको असहज परिस्थितिलाई लिएर गृहमन्त्री रमेश लेखकले शनिबार सुरक्षा निकायका प्रमुखहरुलाई छलफलका लागि बोलाएका छन् ।
कैदीबन्दीबीच झडपपछि उत्पन्न परिस्थितिका विषयमा छलफल गर्न मन्त्री लेखकले शनिबार दिउँसो ४ बजे गृह मन्त्रालयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई बोलाएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
छलफलमा गृहसचिव गोकर्णमणि दुवाडी, सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख सहसचिव आनन्द काफ्ले लगायत सहभागी हुनेछन् ।
कैदीबन्दीबीच गएराति एकआपसमा झडप हुँदा एक जनाको मृत्यु र ४७ जना घाइते भएका छन् । स्थानीय प्रशासनका अनुसार झडपमा घाइते भएकाहरुको धनगढीमै उपचार भइरहेको छ । कैलाली जिल्ला काराकारमा रहेका कैदीबन्दीबीच भएको झडपमा परी एक जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका(४ का ४० वर्षीय भरत चौधरीमाथि शुक्रबार राति कुटपिट भएको थियो ।
कुटपिटबाट गम्भीर घाइते चौधरीको उपचारका क्रममा मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ। अन्य ४० जनाभन्दा बढी कैदीबन्दी घाइते भएका छन् । मृतक चौधरीमाथि लागूऔषधको मुद्दा थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजकुमारसिंहका अनुसार कैलाली कारागारभित्र दुई समूहबीच केही दिनयता लगातार झडप भइरहेको छ । झडपको भित्री कारण खुलेको छैन । तर कैदीहरुलाई सरुवा गर्ने विषयलाई लिएर दुई समूहबीच दैनिक जसो झडप भइरहेको छ ।
एक सय ५० जना क्षमताको कैलाली कारागारमा सात सय बढी कैदीबन्दी रहेका छन् ।















प्रतिक्रिया दिनुहोस्