सिर्जनशील उद्यमी मेलामा मेड इन नेपालको उत्पादनलाई खरिद गर्नुपर्नेमा जोड
काठमाडौँ, २२ साउन। देशमा आयात न्यूनीकरण गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले बालुवाटारमा सिर्जनशील उद्यमी मेला शुरु गरिएको छ।
सिर्जनशील उद्यमी महिला केन्द्र र इभेन्ट संसारको समन्वयमा सुरु भएको उक्त मेलामा घरेलु तथा हस्तकला समग्री, लत्ताकपडा, शृङ्गार सामग्री प्रदर्शन तथा बिक्री समेत गरिएको हो। आइतबारसम्म चल्ने मेलाको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले शुभारम्भ गर्नुभयो।
घरेलु तथा साना उद्योगको विकासले मुलुकमा आर्थिक समृद्धि हासिल गर्न सहयोग पुग्ने बताउँदै उहाँले स्वदेशी ज्ञान, सिप, श्रम र अनुभवले सृजना गरेका वस्तुले आन्तरिक बजारको केही प्रतिशत माग पूरा गर्दा पनि त्यसले आयात प्रतिस्थापमा ठूलो योगदान गर्ने बताउनुभयो।
मन्त्री भण्डारीले स्वदेशी उत्पादनलाई स्वदेशमै खपत गर्नसकेमा त्यसले पूँजी परिचालनको वातावरण बनाउन सहयोग पुग्ने र आर्थिक तथा सामाजिक रुपान्तरणमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
महिलाले सञ्चालन गर्ने उद्योगमा सरकारले कर छुटको सहुलियत दिएको बताउँदै उहाँले मन्त्रालयले
स्टार्टअप र रचनात्मक उद्यमशील परियोजना अन्तर्गत रु २५ लाखसम्म सहुलियत व्याजदरमा ऋण दिने कार्यक्रम समावेश गरेको उल्लेख गर्नुभयो।
रोजगारी सृजना गर्ने, उद्यमशीलता वृद्धि गर्ने, राष्ट्रिय आवश्यकता पूरा गर्ने विषय सरकारको प्राथमिकतामा राखेको बताउँदै मन्त्री भण्डारीले कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा उद्योगको योगदान बढाउन नीति र कानुनमा सहुलियत दिइने जानकारी दिनुभयो।
हस्तकला तथा घरेलु उद्योगबाट हुने उत्पादनले रोजगारी सिर्जना गर्नाका साथै ग्रामीण अर्थव्यवस्थालाई गतिशील बनाउने बताउँदै उहाँले महिलालाई उद्यमशीलतातर्फ आकर्षित गर्नुपर्नेमा जोड दिनुभयो।
केन्द्रका अध्यक्ष मिलु थापाले ग्रामीण अर्थतन्त्रलाई समृद्ध बनाएर समग्र मुलुकको अर्थतन्त्रलाई सुदृढ गर्न सकिने बताउँदै महिला वर्गलाई व्यावसायिक सीपको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
इभेन्ट संसारका पशुपति केसीले स्वदेशी उत्पादनलाई प्रवद्र्धन तथा बजारीकरण गर्न मेला उपयोगी हुने जानकारी दिनुभयो।
उद्यमी मारिन लोप्चन राईले देशको साना, लघु र घरेलु उद्योगले रोजगारी सृजना गर्ने भएकाले यसको विकासका लागि सहज नीति निर्माण आवश्यक रहेको विचार व्यक्त गर्नुभयो। स्वदेशमा ढाका तथा ढाकाजन्य वस्तुको उत्पादन गरी उहाँले विदेशमा निर्यात गर्दै आउनु भएको छ। सफल उद्यमी राईले ढाका बुनाई गर्न चाहनेलाई प्रशिक्षणको व्यवस्थापन समेत गर्दै आएको जनाइएको छ।
सुम्दिमा सिल्क प्यालेसका प्रोप्राइटर समेत रहनुभएकी उहाँले उत्पादन गरेका ढाकाको माग नेपालस्थित विदेशी दुतावासमा समेत भएको बताइएको छ।
















प्रतिक्रिया दिनुहोस्