स्वस्तिक लघुवित्तले साउन ३० गतेदेखि आईपीओ निष्काशन गर्दै
काठमाडौं,२१ साउन । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ३० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट पश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
लघुवित्तले जारी पूँजीको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये पहिलो चरणमा लघुवित्तले १ हजार १५५ कित्ता शेयर कर्मचारीहरुका लागि, ११ हजार ५५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि २३ हजार १०० कित्ता शेयर विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो ।
अब दोस्रो चरणमा लघुवित्तले सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ९५ लाख १९ हजार ५०० रुपैयाँबराबरको १ लाख ९५ हजार १९५ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
निष्काशन बन्द छिटोमा भदौ ३ गते हुनेछ भने ढिलोमा भदौ १३ गते हुनेछ । सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी इस्यूअर रेटिङ्ग बी एटदरेट प्रदान गरेको छ । यसले लघुवित्तको समयमा वित्तीय दायित्व पूण गर्न सक्ने अवस्थामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
यस लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।















प्रतिक्रिया दिनुहोस्