अमर कला केन्द्रद्वारा ‘तीज विशेष कार्यक्रम’
काठमाडौँ । अमर कला केन्द्रद्वारा राजधानीमा आयोजित ‘तीज विशेष कार्यक्रम’को अवसरमा दर कार्यक्रम तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।
उक्त समारोहमा लामो समयदेखि नेपाली कला संस्कृति तथा साहित्यको विकासमा योगदान पुर्याउने प्रतिष्ठित व्यक्तित्वलाई सम्मान गरिएको हो। डाक्टर देउती गुरुङ, नृत्य निर्देशक एनबि गुरुङलगायतलाई सम्मान गरिएको हो।
कार्यक्रमका संयोजक राधा ठोकरले सांस्कृतिक पर्व तीजलाई सामाजिक एकता, विभिन्न जातजाति तथा समुदायबीच मेलमिलाप, आपसी सहयोग तथा सद्भाव आदानप्रदानका रूपमा मनाउनुपर्नेमा जोड दिनुभयो ।यस पर्वलाई तडक–भडकपूर्ण नभएर आर्थिक तथा सामाजिक रुपान्तरणका लागि अभिप्रेरित गर्ने दिनका रुपमा लिनुपर्ने बताउँदै चाडपर्वमा गहना, कपडाको प्रदर्शन र नाचगान मात्र नगरी प्रतिफल देखिने काम गरी मनाउन आग्रह गर्नुभयो ।
अभिनेत्री शान्ता तामाङले सामाजिक सद्भाव कायम गर्न सदियाैँ पहिलेदेखि मनाउँदै आएको तीज पर्वले सबै प्रकारका विभेदको अन्त्य गरी प्रगतिशील कामका लागि एकताबद्ध हुने अवसर प्रदान गरेको धारणा राख्नुभयो।
कलाकार सोनाम चाम्लिङ राईले सामाजिक व्यवस्थामा भएका विकृति विरुद्ध तीज पर्वमा गरिने साँस्कृतिक कार्यक्रम तथा गतिविधिबाट प्रवाह हुने सन्देशले समाजमा सकारात्मक परिवर्तन ल्याउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो।
भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइने तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो ।
तीजमा भगवान शिवको आराधना गर्दै गरिने नाचगानले मनोरञ्जन प्रदान गर्ने गर्दछ । नेपाली हिन्दू महिलाद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज पछिल्लो समय बिभिन्न धर्म र जातजातिका नेपाली महिलाले पनि खुशीयालीका साथ मनाउन गरेको पाइएको छ ।
हिमालय पुत्री पार्वतीले हरितालिका तीजको दिन शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो बर्त राखेको शास्त्रीय मान्यता छ।
















प्रतिक्रिया दिनुहोस्