सरकारको कुशासनले लोकतन्त्र नै खतरामाः कांग्रेसका नेता डा. शेखर

काठमाडौं, १८ साउन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार पारदर्शी, जवाफदेही र उत्तरदायी नहुँदा जनताले सुशासनको अनुभूति गर्न नसकेको टिप्पणी गरेका छ्न् ।

आइतबार विराटनगरमा गुराँस पुस्तकालयले आयोजना गरेको मुक्तिप्रसाद यदुनाथ चापागाईँ सम्मान कार्यक्रममा कोइरालाले ठूला दुई दल मिलेर बनेको सरकार पनि जनताप्रति पारदर्शी, जवाफदेही र उत्तरदायी हुन नसकेको र यसका कारण सुशासनको अनुभूति हुन नसकेको बताए ।

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका ठीकसँग नचलेका कारण लोकतन्त्र नै खतरामा परेको उनको जिकिर छ ।

उनले लोकतन्त्रको रक्षाका लागि भएपनि पुनः आन्दोलन गर्नुपर्ने अवस्था आउन लागेको बताए । मुलुकको निर्वाचन प्रणालीका कारण पनि मिलिजुली सरकार बनाउनुपर्ने बाध्यता रहेको भन्दै मिलिजुली सरकार बनाउनै पर्ने बाध्यताकाबीच पार्टीको सिद्धान्त र व्यवहारलाई छोड्न नहुने कोइरालाले जोड दिए ।

कार्यक्रममा राजनीति तर्फ हरि सापकोटालाई २१ हजार नगदसहित सम्मान गरिएको थियो भने सामाजिक तर्फ अलिम अन्सारीलाई ११ हजार नगदसहित सम्मान गरियो ।

यसैगरी प्रतिभा तर्फ डा. प्रमिला गच्छेदारलाई नेता डा. कोइरालाले सम्मान पत्र प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस्