सात बुँदे सहमति कार्यान्वयनमा सरकारले तत्परता देखाएनः डा. शेखर
काठमाडौं, १४ साउन। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले जनताका अपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन् ।
विराटनगरमा कुरा गर्दै उनले सरकार सफल असफल भएको विषयमा टिप्पणी गर्ने बेला नभएको भन्दै प्रधानमन्त्रीले ७ बुँदे सहमति अनुसार सरकार सञ्चालन नगरेको बताए ।
उनले भने ‘हामीसँग भएका सात बुँदा मध्ये एउटा पनि बुँदा कार्यान्वयनमा जान सकेन ।’ उनले सरकारले आफ्नो काम जनतालाई पुष्टि गर्न सक्नुपर्ने बताए । उनले कामको पुष्टि गर्न सके मात्रै सरकार सफल मानिने बताए ।
उनले संवैधानिक परिषद्मा दुई वा तीन जनाले मात्रै निर्णय गर्नसक्ने गरी पारित भएको विधेयक ‘खतरनाक’ भएको बताए ।
उनले शक्ति पृथकीकरणको आधारमा संविधान बनाएको तर राष्ट्रियसभाले शक्ति पृथकीकरणको सिद्धान्तलाई नजर अन्दाज गरेको बताए । उनले भने ‘संविधानको स्प्रिटलाई नै समाप्त पारिएको छ । यो प्रजातन्त्रका लागि अत्यन्तै खतरनाक छ ।’
डा. कोइरालाले संविधान संशोधन वा पुनरावलोकनको चर्चासमेत हराएको भन्दै त्यसका लागि नेपाली कांग्रेसको केन्द्रीय समितिले बनाउने भनेको कमिटीसमेत अझै गठन हुन नसकेको बताए ।
डा. कोइरालाले पार्टीको संसदीय दलको नेता फेर्नका लागि आवश्यक संख्या नपुगेको भन्दै अहिले यस विषयमा हतार गर्न नहुने बताएका छन् । संसदीय व्यवस्थामा संख्याको खेल हुने र बहुमत पुर्याउनुपर्ने कुरामा उनले जोड दिए ।
डा. कोइरालाले पूर्वराष्ट्रपति, उपराष्ट्रपतिलाई संविधानले राजनीतिमा फर्कन कुनै बाधा नगरेको बताएका छन् । उनले संविधानले पूर्वराष्ट्रपतिलाई राजनीति गर्ने अधिकार दिएको बताए । उनले भने, ‘तर मलाई सोध्नु हुन्छ भने राजनीतिमा नफर्किएको राम्रो तर कसले रोक्छ ।’















प्रतिक्रिया दिनुहोस्