सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा विमल पौडेल र सहरजिष्ट्रार मानबहादुर कार्की सिफारिस

काठमाडौं, १२ साउन । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा विमल पौडेल सिफारिस भएका छन् । प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा आइतबार बिहान बसेको न्याय सेवा आयोगको बैठकले मुख्य रजिष्ट्रारमा पौडेललाई नियुक्त गरेको हो ।

मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल ५८ वर्षे उमेर हदका कारण आइतबारदेखि अनिवार्य अवकाशमा गएपछि सर्वोच्च अदालतका रजिष्ट्रार पौडेल मुख्य रजिष्ट्रारमा सिफारिस भएका हुन् । पौडेल रजिष्ट्रार पदमा नियुक्त भएको डेढ वर्षमै मुख्य रजिष्ट्रार नियुक्त हुन सफल भएका छन् ।

सँगै नियुक्ति खाएका २ जनालाई उछिनेर मुख्यरजिष्ट्रार

मुख्य रजिष्ट्रार सिफारिस भएका पौडेल २०५९ साल चैत १८ मा नेपाल न्याय सेवाको राजपत्रांकित तृतीय श्रेणी अर्थात् शाखा अधिकृतमा नियुक्त भएका थिए ।

उनीसँगै रजिष्ट्रार बुढामगर र भद्रकाली पोखरेल पनि नियुक्त भएका थिए । त्यसको ठिक ७ वर्षपछि २०६६ जेठ ६ मा पौडेल राजपत्रांकित द्वितीय श्रेणी अर्थात् उपसचिव पदमा बढुवा भए ।

पौडेल भन्दा करिब २ महिनापछि साउन २७ मा पोखरेल र १० महिनापछि चैत ५ मा बुढामगर बढुवा भएका थिए । उपसचिव बढुवा भएको ५ वर्षपछि २०७१ पुस १५ मा पौडेल सहसचिव बढुवा भए । पौडेल सहसचिव बढुवा भएको एक महिनापछि माघ २९ मा बुढामगर र पोखरेल बढुवा भए ।

सहसचिव बढुवा भएको ९ वर्षपछि २०८० पुस २४ मा पौडेल सचिव पदमा बढुवा भएका थिए । पौडेल बढुवा भएको करिब ५ महिनापछि २०८१ जेठ १७ मा बुढामगर र पोखरेल सचिवमा बढुवा भएका थिए ।

अदालतको सम्पूर्ण प्रशासन सञ्चालन, करिब १० अर्ब रुपैयाँ बराबरको आर्थिक परिचालनको अधिकार अनि सर्वोच्च अदालतका सबै न्यायाधीशको बैठकमा बस्न पाउने अवसर लगायत कारण मुख्य रजिस्ट्रार पद निकै आकर्षक मानिँदै आएको छ ।

केही वर्ष पहिले यो कार्य सर्वोच्च अदालतको रजिस्ट्रारले गर्ने भए पनि ८ वर्ष अघि अर्थात् २०७४ सालदेखि नेपाल सरकारका मुख्य सचिवसरहको मुख्य रजिस्ट्रार पद सिर्जना गरिएको हो ।

आइतबार बिहानै बसेको न्याय सेवा आयोगको बैठकले सहरजिष्ट्रार मानवहादुर कार्कीलाई रजिष्ट्रार पदमा सिफारिस गरेको छ ।

सर्वोच्च अदालतमा मानव संशाधन विकास तथा प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका कार्कीलाई रजिष्ट्रारमा सिफारिस गरेको हो ।

रजिष्ट्रार विमल पौडेल मुख्य रजिष्ट्रार सिफारिस भएपछि रिक्त रहेको रजिष्ट्रार पदमा कार्की सिफारिस भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्