एमालेको पोलिटब्युरो बैठक आजै सक्नेगरी रुलिङ
काठमाडौं, ३ श्रावण। हिजो शुक्रबारदेखि सुरुको सत्तारुढ दल नेकपा एमालेको पोलिटब्युरो बैठक जारी छ । च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा नेताहरूले आ–आफ्ना धारणा व्यक्त गर्ने क्रम जारी छ । अध्यक्ष केपी शर्मा ओलीले आजै बैठक सक्नेगरी रुलिङ गरेका छन् ।
बैठक आगामी भदौमा हुने विधान महाधिवेशन, त्यसको तयारी र पछिल्लो पटक एमालेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण लगायतका विषयमा केन्द्रित रहेको छ ।
पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले दिएको जानकारी अनुसार, हिजो र आज गरि जम्मा ३२ जनाले आ–आफ्नो धारणा राखेका छन् ।
केहीले लिखित रुपमा पनि आफ्नो कुरा बैठकमा पेस गरेको गौतम बताउँछन् ।
आजको बैठकमा उत्तम पौडेल, आनन्द पोखरेल, गोकुल बास्कोटा, महेश बस्नेत, लिला गिरी, जगत विक, कमल चौलागाईं, ईश्वरी बहादुर रिजाल, जितु गौतम, बिनोद श्रेष्ठ लिखित०, सुमन प्याकुरेल, भैरव सुन्दर श्रेष्ठ, राम दयाल मण्डल, दलबहादुर राना र गोकुल घर्ती मगर लगायत गरी ३२ जनाले आफ्नो राय राखेको उनले बताए ।
गौतमका अनुसार, पार्टी अध्यक्ष केपी शर्मा ओलीले आजै बैठक सक्नेगरी रुलिङ गरेका छन् । सोही अनुसार आजै साँझ ६र७ बजेसम्म बैठक सक्नेगरी लागिएको उनले बताए ।
‘अहिले पार्टी अध्यक्षको रुलिङ अनुसार यो बैठक आजै समापन गरिँदैछ । बोल्न बाँकी ४० को हाराहारीमा सदस्य संख्या बाँकी छ,’ गौतमले भने ।
आजको बैठकमा पार्टीका पोलिटब्यूरो र स्थायी कमिटी सदस्यले पार्टी विधानमा उल्लेख भएका विषयका अतिरिक्त पनि आफ्ना कुरा राखेको उनले बताए ।
‘बाहिर सार्वजिनक भएको ७० वर्षको उमेर हद, दुई कार्यकालको व्यवस्था, पूर्वराष्ट्रपतिले राजनीतिमा प्रवेश गरेको र सदस्यता लगायतको विषयमा कुरा आएका छन्,’ उनले भने ।
त्यसका साथै, पार्टीका कमिटीहरूलाई समन्वय र कार्यकारीको भूमिकामा अघि बढाउनु पर्ने लगायतका कुरा पनि नेताहरूले राखेको उनले बताए ।
करिब ४० भन्दा बढी सदस्यले बोल्न बाँकी रहेको र त्यो क्रम अहिले चलिरहेको गौतमले जानकारी दिए । यसले गर्दा बैठकमा धारणा छोट्याउन नेतोहरुलाई निर्देशन छ ।
प्रतिक्रिया दिनुहोस्