एमाले पोलिटब्युरो बैठक सुरू

काठमाडौं, २ श्रावण । नेकपा एमालेको पोलिटब्युरो बैठक सुरू भएको छ ।

पार्टी मुख्यालय च्यासलमा जारी बैठकको मुल एजेण्डा बिहीबारको सचिवालय बैठकद्वारा पारित विधान संशोधन प्रस्ताव रहेको छ । एमालेमा ९९ सदस्यीय पोलिटब्युरो कमिटी छ ।

बिहीबार मध्यरातमा सकिएको सचिवालयले बैठकमा १९ सदस्यीय पदाधिकारीलाई सुरूमा ११ जनामा सीमित गर्ने प्रस्ताव गरिएकोमा छलफलको क्रममा १५ जना पुर्‍याउनुपर्ने अनौपचारिक सहमति गरेको छ ।

जसमा वरिष्ठ उपाध्यक्ष पद हटाएर अध्यक्ष, महासचिव र उपमहासचिव(१, उपाध्यक्ष(५ र सचिव( ७ जना प्रस्ताव गरिएको छ । यद्यपि यो अन्तिम नभएको स्रोतले बतायो ।

परिमार्जित विधान मस्यौदाको प्रस्ताव पोलिटब्युरोमा ल्याउन पार्टी उपाध्यक्ष एवं विधान संशोधन समितिका संयोजक विष्णुप्रसाद पौडेललाई जिम्मा दिइएको छ ।

सचिवालयमा पौडेलले १९९ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव गरेकोमा पछि २५१ सदस्यीय बनाउने निर्णय भएको छ । केन्द्रीय कमिटीका एक तिहाइ सदस्य पोलिटब्युरोमा रहनेछन् । पोलिटब्युरो अब ८३ सदस्यमा झारिनेछ ।

प्रतिक्रिया दिनुहोस्