घुस डिलसम्बन्धी अडिओ काण्डमा मुछिएका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिए
काठमाडौं, ३१ असार । घुस डिलसम्बन्धी अडिओ विवादमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्।
मन्त्री गुप्ताले मंगलबार प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्। आफूले राजीनामा दिइसकेको मन्त्री गुप्ताले बताए।
मन्त्री गुप्तालाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सोधपुछ गरेका थिए।
भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरूवा रोक्न ५३ लाख घुस लेनदेनसम्बन्धी ुडिल गरेकोु अडिओ सार्वजनिक भएको भएपछि मन्त्री गुप्ताको राजीनामा माग भएको थियो।
सत्तारूढ नेपाली कांग्रेसका नेता शेखर कोइराला, महामन्त्री गगन थापालगायतले मन्त्री गुप्तालाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।
साथै एमालेका नेता राजन भट्टराईलगायतले पनि मन्त्री गुप्तालाई हटाउन माग गरेका थिए।
गुप्ता एमालेका प्रतिनिधि सभा सांसद र केन्द्रीय सदस्य पनि हुन्।
मन्त्री गुप्ताले भने आफ्नो आवाज परीक्षणका लागि तयार रहेको तथा पैसा आफ्नो र मन्त्रालय दुवैको खातामा नआएको दाबी गर्दै आएका छन् । यसले गर्दा अब छानविनको लागि मार्ग प्रशस्त भएको छ ।
प्रतिक्रिया दिनुहोस्