मैत्रीपूर्ण खेलमा विश्वकप दाबेदार फ्रान्स विजयी, आयरल्यान्ड २-० ले पराजित
काठमाडौं । विश्वकप मैत्रीपूर्ण खेलमा फ्रान्सले आयरल्यान्डलाई २-० ले पराजित गरेको छ । जुन १४ बाट सुरु हुने फिफा विश्वकप २०१८ मा फ्रान्स पनि दाबेदारमध्ये एक रहेको छ भने आयरल्यान्ड विश्वकपमा छनोट हुन असफल भएको हो ।
फ्रान्सले केही नियमित खेलाडीहरुलाई मात्र सुरुवाती ११ मा समेटेको थियो । फ्रान्सका लागि ४० औं मिनेटमा ओलिभर जिरुले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
त्यस्तै जिरुको गोलको ३ मिनेटमै फ्रान्स आफ्नो अग्रता दोब्बर पार्न सफल भएको थियो । नबिल फेकिरले गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।
फ्रान्सका स्टार एन्टोइन ग्रिजम्यान, पल पोग्बा, ह्युगो लोरिस र एन्गोलो कान्टे बेन्चमै थिए भने च्याम्पियन्स लिग विजेता राफायल भरान टोलीमै अटाएनन् ।
अर्को मैत्रिपूर्ण खेलमा भरान सुरुवाती ११ मै फर्किने अनुमान छ । त्यस्तै किलियन बाप्पे भने सुरुवात गर्दै दोस्रो गोलका लागि असिस्ट समेत गरे ।
अब फ्रान्सले इटालीसँग जुन २ मा तथा अमेरिकासँग जुन १० आफ्ना मैत्रीपूर्ण खेलहरु खेल्ने छ । विश्वकपमा फ्रान्स समूह ‘सी’ मा डेनमार्क, अष्ट्रेलिया र पेरुसँग रहेको छ ।
प्रतिक्रिया दिनुहोस्