माधव र झलनाथपछि वरिष्ठ नेता पाउने सहमतिमा वामदेव नेकपा एसमा भित्रिदै
काठमाडौं, २७ असार । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा समाहित हुँदै छन् । दुई पार्टीबीच साउन २ गते राष्ट्रिय सभा गृहमा एक समारोहका बीच एकताको घोषणा गर्ने सहमति भइसकेको छ ।
सहमति पत्रमा अध्यक्ष नेपाल र नेता गौतमले हस्ताक्षर गरेका छन् । एमालेले बेवास्ता गरेपछि गौतम नेकपा एसमै जान तयार भएका हुन् । यसअघि पनि यो सहमति भइसकेपनि भाँडिएको थियो ।
गौतम नेकपा एसमा प्रवेश गरेपछि कुन जिम्मेवारी लिएर जाँदैछन् चासोको विषय छ । दुई नेताहरुबीच सहमतिपछि हामीले नेकपा एसका उपाध्यक्ष गङ्गालाल तुलाधरलाई सोध्यौँ ।
उनले भने, ‘अहिले पार्टी एकता गरिहालौँ भनेर २ गतेको लागि समय तोकेका छौँ । बाँकी सङ्गठनात्मक विषयमा छलफल छलफल गर्दै जाने सहमति भएको छ । एकतापछि पनि जिम्मेवारी लगायतको विषयमा छलफल हुन्छ ।’
उनले गौतमतर्फबाट आएको नेताहरूलाई पनि उचित जिम्मेवारी दिने बताए ।
गौतमलाई तेस्रो वरीयता दिएर पार्टीमा भित्र्याउने सहमति भएको अर्का एक नेताले बताए ।
उनले भने, ‘हामीले उहाँलाई अध्यक्ष र सम्मानित नेतापछि तेस्रो वरियता दिने सहमति भएको छ । यो पत्रमा नखुलाइएको मात्रै हो । उहाँलाई वरिष्ठ नेता पद दिन्छ ।’
अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनालपछि वरीयताको हिसाबमा गौतम हुने ती नेताले बताए । नेकपा एसका वेदुराम भुसाल, प्रमेश हमाल र घनेन्द्र बस्नेत वरिष्ठ नेता छन् । गौतमपछि चौथो वरीयतामा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे रहनेछन् ।
प्रतिक्रिया दिनुहोस्