ग्लोबल आइएमई समुन्नत योजना–२ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाडौं,२७ असार । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले असार २२ गतेदेखि निष्काशनमा ल्याएको सामूहिक लगानी कोष ग्लोबल आइएमई समुन्नत योजना २ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

सर्वसाधारण आवेदकहरुबाट मागभन्दा बढी इकाईको लागि आवेदन प्राप्त हुन आएकोले आज बैंकिङ्ग समय पश्चात् सो योजनाको इकाई खरीदका लागि आवेदन लिने कार्य बन्द गरिने क्यापिटलले जनाएको छ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजना १० वर्षे बन्दमुखी प्रकृतिको योजना हो ।

निष्काशन गरिएको कुल १२ करोड इकाईको १५ प्रतिशत इकाईमध्ये १.५ प्रतिशत अर्थात १८ लाख इकाई योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटललाई र १३.५० प्रतिशत अर्थात १ करोड ६२ लाख इकाई बीज पूँजीको रुपमा राखी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गरेको हो । उक्त योजनमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

यस योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । उक्त योजनाको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन्।

ग्लोबल आइएमई समुन्नत योजना–२ को इकाई निष्काशन खुल्ला हुने अन्तिम दिन आज बैंकिङ्क समयसम्म आवेदन गर्न सकिने भएकोले सो समयसम्म माग भन्दा बढी थप २५ प्रतिशत इकाइको लागि आवेदन प्राप्त भई योजनाको आकार रु। १,५०,००,००,०००।०० (अक्षरेपी एक अर्ब पचास करोड) पुग्ने र ओभर सब्स्क्राइब हुने क्यापिटलले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्