भूमि विधेयक संसदको कार्यसूचीबाट हटाउन कांग्रेसको दबाब
काठमाडौं, २५ असार । सत्ता साझेदार नेपाली कांग्रेसले भूमि विधेयक संसदको कार्यसूचीमा राखेकोप्रति तीव्र असन्तुष्टि जनाएपछि कार्यसूचीबाट हटाउन दबाब बढेको छ ।
कांग्रेस नेताहरूले भूमि विधेयकमा थप छलफलको आवश्यकता रहेको उल्लेख गर्दै पुनः समितिमा पठाउनुपर्ने माग गरेका छन् । कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले भूमि विधेयकमा थप छलफल आवश्यक रहेकाले आजको कार्यसूचीबाट हट्ने दाबी गरे ।
भूमि विधेयक जबरजस्ती पारित गर्न खोजिए मान्य नहुने कांग्रेस नेताहरूले बताएका छन् । भूमि विधेयकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री जीवन परियारसहित कांग्रेस सांसदहरू दिलेन्द्रप्रसाद बडु, सञ्जय गौतम, राजन केसी लगायत १२ जनाले संशोधन प्रस्ताव पेश गरेका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका कांग्रेस सांसद रामहरि खतिवडाले कार्यसूचीबाट हट्नैपर्ने बताए । खतिवडाले भने, ‘२।४ दिन ढिलो भएर के हुन्छ ? समितिमा पठाएर छलफल गरेर पारित गर्दा ठीक हुन्छ ।’
संसद सचिवालयले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ पारित गर्ने गरी संसदको कार्यसूचीमा राखेपछि महामन्त्री शर्माले आपत्ति जनाएका छन् ।
पर्याप्त गृहकार्य नगरी सोझै पारित गर्नेगरी संसदमा प्रस्तुत हुन लागेको भन्दै उनले विमति राखेका हुन् । पूर्व सहमति खोज्नुपर्ने वा थप छलफलका लागि समितिमै विधेयकलाई पठाउन सकिने विकल्प उनले सुझाएका छन् ।
‘पूर्व सहमति खोजौं कि समितिमा पठाऔं’ उनले भने, ‘अन्यथा, आजलाई कार्यसूचीबाट हटाइयोस् ।’
आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ लाई दफावार छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची छ ।
उक्त विधेयक माथि प्राप्त संशोधनहरू निणयार्थ प्रस्तुत गर्ने र मन्त्री अधिकारीले विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्