एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयर बिक्री खुला
काठमाडौं,२५ असार । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ४२ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
अर्थात इन्स्योरेन्सले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ४.२ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । यस अनुसार इन्स्योरेन्सले १ अर्ब ४२करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।
हकप्रद शेयर निष्काशन प्रयोजनको लागि इन्स्योरेन्सले जेठ १६ गते बुकक्लोज गरेको थियो । गत जेठ १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सको हकप्रद शेयरमा साउन १३ गतेसम्म आवेदन दिन सकिनेछ ।
इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । शेयरधनीहरुले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, पोखरा–चिप्लेढुङ्गा, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर र बुटवल शाखा कार्यालय तथा एशियन लाइफ इन्स्योरेन्सको कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।
इन्स्योरेन्सको हालको चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ रहेको छ । हकप्रद बाँडफाँटपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५५ रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्