लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को शेयरमूल्य समायोजन
काठमाडौं, १६ असार। सोमबार नेपाल स्टक एक्सचेञ्जमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को शेयरमूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले यस दिन इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयर समायोजन गरेको छ । समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ८२५ रुपैयाँ ७८ पैसा कायम भएको हो । अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको छ । अघिल्लो कारोबार दिन आइतबार दोस्रो बजारमा इन्स्योरेन्सको अन्तिम शेयरमूल्य ९०८ रुपैयाँ ३६ पैसा कायम भएको थियो ।
यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ ।
इन्स्योरेन्सले असार ३० गते, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा २३ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान १० बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वासधारण शेयरधनीतर्फबाट १ जना सञ्चालक निर्वाचन गर्ने, संस्थापक शेयरधनीहरुको तर्फबाट नियुक्त सञ्चालकहरुको नियुक्तिलाई अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्