अब थपिएको अवधिमा महाधिवेशन गर्न नसके कांग्रेसका भ्रातृ संस्था स्वतः भंग हुने
काठमााडौं, १५ असार । नेपाली कांग्रेसले अब एकपटकका लागि समयावधि थप्दा समेत महाधिवेशन नगर्ने भ्रातृ संस्थाहरुको केन्द्रीय समिति स्वतः भंग गर्ने भएको छ । तदर्थ समितिमा रहेका भ्रातृ संस्थाको अवधि कात्तिकसम्म समयावधि थप्ने कांग्रेसले आन्तरिक तयारी गरेको छ ।
नेविसंघ, तरुण दल, महिला संघ, किसान संघ, दलित संघ लगायतका भ्रातृ संस्थाहरु तदर्थ समितिमा सञ्चालित छन् । पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीबाट गठित निर्देशक समितिलाई बोलाएर भ्रातृ संस्थाको अवस्था बारेमा ब्रिफिङ लिएका छन् ।
भ्रातृ संस्थाको महाधिवेशन गराउन सहजीकरण र समन्वय गर्ने गरी पार्टीबाट निर्देशक समिति बनाइएको थियो । गत चैत मसान्तसम्म महाधिवेशन गराउने गरी निर्देशक समिति बनाइएपनि प्रमुख भ्रातृ संस्थाले निर्वाचित समिति ल्याउन सकेनन् ।
नेविसंघको निर्देशक समिति सदस्य प्रतिमा गौतमका अनुसार भ्रातृ संस्थाहरुलाई कार्यादेश दिएर महाधिवेशन उन्मुख गराउने गरी छलफल भएको जानकारी दिइन् । ‘महाधिवेशन कहिलेसम्म सकिन्छ, त्यही अनुसार नेविसंघलाई कार्यतालिका ल्याउने दिने र आफैंले तोकेको समयभित्र समेत अधिवेशन गर्न सकेन भने त्यसै दिनदेखि स्वतः भंग हुनेछ,’ गौतमले भनिन्, ‘कार्यतालिका ल्याएर पनि निर्वाचित समिति ल्याउन सकेनन् भने अब थप्नेरनथप्ने विषयमा छलफल हुँदैन ।’
भ्रातृ संस्थाको अवधि थप्ने औपचारिक निर्णय सोमबारदेखि बस्ने केन्द्रीय समिति बैठकले गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्