छ्याङ्दी हाइड्रोपावरको हकप्रद सेयरमा दरखास्त दिने समय थप

काठमाडौं,१२ असार । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरेको छ । यसमा अब असार २७ गतेसम्म आवेदन दिन सकिनेछ । यसअघि कम्पनीले आज असार १२ गतेसम्म हकप्रद सेयरमा आवेदन दिन सकिने जनाएको थियो । तर, उक्त समयमा मागअनुसार आवेदन नपरेकाले यस कम्पनीले हकप्रद सेयरमा आवेदन दिने समय थप गरेको हो ।

छ्याङ्दी हाइड्रोपावरले जेठ २३ गतेदेखि १ः१ अनुपातमा ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर जारी गरेको हो । जसअनुसार यसले १ सय अंकित मूल्यमा ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको हो ।

यसमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल काठमाडौं र ग्लोबल आइएमई बैंकको तोकिएको शाखा कार्यालयबाट यसमा आवेदन दिन सकिनेछ ।

यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । हाल छ्याङ्दी हाइड्रोपावरको चुक्ता पुँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ रहेको छ । हकप्रदपछि पुँजी ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्