अख्तियारका तर्फबाट सुशील पन्तको बहसबाट नेपालको थुनछेक बहस सुरु

काठमाडौं, ११ असार । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको विशेष अदालतमा थुनछेक बहस सुरु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले सुरुवातीमा बहस गरिरहेका छन् ।

नेपालले आज विशेष अदालतमा गएर बयान दिएपश्चात थुनछेक बहस प्रारम्भ भएको हो । बहसपश्चात नेपाललाई थुनामा पठाउने कि नपठाउने भन्ने न्यायाधीशले निर्णय लिने छन् ।

नेपालका तर्फबाट बहस गर्न डेढ सय जति कानून व्यवसायीले वकालतनामा लेखाएका छन् । तर, समयको पावन्दीले गर्दा थोरैले मात्रै बहसको अवसर पाउने सम्भावना छ ।

आज बहस नसकिएमा न्यायाधीशले नेपाललाई थुनामा पठाउन सक्ने भएकाले बहस छोट्याउने तयारी उनका वकिलहरुको छ । केही वरिष्ठ अधिवक्ताहरुले मात्रै उनको पक्षबाट बहस गर्ने छन् ।

अख्तियारका तर्फबाट विशेष सरकारी वकिल कार्यालयका प्रमुख मोहनसागर बस्यालसहितको टोली बहसका लागि तयार छ ।

प्रतिक्रिया दिनुहोस्