ट्रम्पको युद्धबिराम घोषणालाई चुनौती दिदै इरानद्वारा इजरायलमा मिसाइल प्रहार, ३ को मृत्यु

काठमाडौं, १० असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको ‘युद्धबिराम’ लाई सन्देहमा पार्दै इजरायलमाथि इरानले ताजा मिसाइल आक्रमणहरू गरेको छ । मिसाइल प्रहारबाट इजरायलको दक्षिणी सहर बेयरशेवामा कम्तीमा ३ जनाको मृत्यु भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

ट्रम्पले इजरायल र इरानबीच ‘१२ दिनको युद्ध’ अन्त्य भएको घोषणा गरेपछि भएको हो । उनले यो युद्धविराम चरणबद्ध रूपमा लागू हुने दाबी गरेका छन् । तर, इरानका विदेशमन्त्री अब्बास अराग्चीले इजरायलसँग युद्धविराममा कुनै सहमति नभएको बताएका छन् ।

इजरायलले आफ्नो ‘गैरकानुनी आक्रमण’ स्थानीय समयअनुसार बिहान ४ बजे (००ः३० जीएमटी) सम्म रोकेमा तेहरानले आक्रमण रोक्ने उनको भनाइ छ । इरानी सरकारी टेलिभिजनले भने युद्धबिराम कार्यान्वयनमा आइसकेको बताएको छ ।

इजरायलले यसबारे सार्वजनिक रूपमा कुनै टिप्पणी गरेको छैन । मंगलबार बिहान इरानबाट मिसाइल प्रक्षेपण भएको पत्ता लगाएपछि इजरायलले आफ्ना नागरिकलाई सुरक्षित स्थानमा लुक्न भनेको छ ।

केही घण्टाअघि इरानले आफ्ना आणविक भट्टीहरूमा अमेरिकी आक्रमणको बदलामा कतारमा रहेको अमेरिकी सैन्य अखडामा मिसाइल प्रहार गरेको थियो ।

इरानका अनुसार जुन १३ मा इजरायलले आक्रमण सुरु गरेयता १३ बालबालिकासहित ४०० भन्दा बढी व्यक्ति मारिएका छन् र कम्तीमा ३ हजार ५६ जना घाइते भएका छन् । इजरायलमा इरानी आक्रमणबाट कम्तीमा २४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्