साढे ५ करोडको बैंकिङ कसुरमा सांसद मेटमणि चौधरीविरुद्ध जाहेरी

काठमाडौं, ५ असार । नेकपा एसका सांसद मेटमणि चौधरीविरुद्ध बैंकिङ कसुरमा जाहेरी परेको छ । जाहेरीपश्चात प्रहरीले मुद्दा दर्ताको प्रक्रिया थालेको छ । चौधरी पार्टी उपमहासचिव एवं प्रमुख सचेतकसमेत हुन् ।

चौधरीविरुद्ध ५ करोड ४० लाखको चेक अनादरमा मुद्दा प्रक्रिया अघि बढेको हो ।

उनी दाङ- १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । जिल्ला प्रहरी कार्यालय दाङका एसपी अर्जुन तिमिल्सिनाले सांसद चौधरीविरुद्ध हुलाक मार्फतबाट चेक अनादरमा जाहेरी आएको बताए । जाहेरीमाथि अनुसन्धान भइरहेको र मुद्दा दर्ताको प्रकृयामा रहेको तिमिल्सिनाले बताए ।

स्रोतका अनुसार प्रहरीले चौधरीविरूद्ध बैंकिङ कसुर र ठगीमध्ये कुन मुद्दा चलाउने भन्नेबारे कानूनी परामर्श थालेको छ । प्राप्त उजुरीका बारेमा थप छानबिन गरेर मुद्दा दर्ता प्रक्रिया अघि बढाइने प्रहरी स्रोतको भनाइ छ ।

उजुरी कसले हालेको भन्ने बारे प्रहरीले केही खुलाएको छैन । यस विषयमा सांसद चौधरीसँग सम्पर्क गर्न खोज्दा उनको फोन उठेन ।

प्रतिक्रिया दिनुहोस्