रास्वपाले भिजिट भिसा प्रकरणलाई अझै सशक्त ढंगले अगाडि बढाउन संसदीय दललाई निर्देशन

काठमाडौं, ५ असार । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले भिजिट भिसा प्रकरणमा अझ सशक्त ढंगले अगाडि बढ्न पार्टीको संसदीय दललाई निर्देशन दिएको छ । बिहीबार सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै रास्वपाले सभापति रवि लामिछानेमाथि लगाइएको मुद्दा र भिजिट भिसा प्रकरणबारे गम्भीर छलफल भएको जानकारी दिएको छ ।

‘सभापति रवि लामिछानेमाथि लगाइएको झुट्टा र प्रतिशोधपूर्ण मुद्दाको वर्तमान अवस्था र भिजिट भिसा काण्डमा पार्टीको संसदीय गतिविधिबारे गहन छलफल भयो । उक्त मुद्दा विरुद्ध पार्टी एक ढिक्का भएर अघि बढ्ने तथा भिजिट भिसा काण्डमा संसदमा संसदीय दलको प्रयास प्रशंसनीय रहेको ठहर गर्दै अझ सशक्त रूपमा संसदमा प्रस्तुत हुन संसदीय दललाई निर्देशन दिने’, कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै बैठकले केन्द्रीय विभागहरूमा मनोनयन तथा जिम्मेवारी हेरफेर गरिएको छ । नीति तथा विचार विभाग प्रमुखमा डा. स्वर्णिम वाग्ले, उपप्रमुख सन्तोष परियार रहेका छन् । अभियान तथा प्रचारप्रसार विभाग प्रमुखमा मनिष झा र कृषि विभागको प्रमुखमा राजन गौतम रहेका छन् ।

यसैगरी विषम राजनीतिक परिस्थितिमा वैकल्पिक राजनीति पक्षधर, अभियन्ता तथा स्वतन्त्र समूहहरूलाई एउटै धागोमा बाँध्न पार्टीले नेतृत्व लिने र ‘सहकार्य–संवाद कार्यदल’ गठन गरेको छ । असार ७ गते बिहान ‘लुटतन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको संवर्द्धनका लागि सडक र संसदमा’ भन्ने मूल नारासहित देशव्यापी अभियान सञ्चालन गरी पार्टीको तेस्रो स्थापना दिवस मनाउने निर्णय गरेको छ । साथै पार्टीको पहिलो महाधिवेशन सफल बनाउन सातै प्रदेशमा महाधिवेशन केन्द्रित संगठन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्