धवल शमशेर जबरालाई ३ लाख धरौटीमा छाड्न आदेश

काठमाडौं,२ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं सांसद धवल शमशेर जबरालाई ३ लाख धरौटीमा छाड्न आदेश भएको छ । सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासले राणालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो ।

गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका उनलाई न्यायाधीश शिवप्रसाद खनालको इजलासले सोमबार उक्त आदेश दिएका हुन।

जबरालाई प्रहरीले तीनकुनेमा भएको ‘अराजक’ प्रदर्शनको मुख्य योजनाकारको रूपमा प्रस्तुत गर्दै मुद्दा चलाएको थियो ।

राजावादी आन्दोलनका क्रममा भएको उक्त प्रदर्शनमा उनी पार्टीको जनपरिचालन संयोजकको भूमिकामा थिए र सोही दिन उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

यसअघि स्वास्थ्य समस्याका कारण अदालतको आदेशमा रिहा भएका जबरा प्रहरीको सम्पर्कमा आएका थिएनन्। सम्पर्कमा नरहेको भन्दै उनले ५० हजार रुपैयाँ जरिवाना समेत तिरेका थिए ।

राणा सोमबार अदालतमा उपस्थित भएपछि उनको बयान लिइएको थियो र त्यसपछिको थुनछेक बहसमा न्यायाधीश खनालले धरौटीमा रिहा गर्ने आदेश दिएका हुन्।

उनको तर्फबाट डा. भीमार्जुन आचार्य, शतिशकृष्ण खरेल, गोविन्द बन्दी, बिष्णु भट्टराई, राजु बस्नेत लगायतले बहस गरे भने त्यस्तै सरकारी पक्षबाट ४ जना वकिलहरुले बहस गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्