पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको निधन, शास्त्रीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि असार ४ गते बुधबार बिहान दुई घण्टा कांग्रेसको केन्द्रीय कार्यालयमा राखिने
काठमाडौं,२ असार । पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको उपचारको क्रममा अस्पतालमा आज निधन भएको छ । शास्त्रीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा राखिने भएको छ ।
शास्त्रीको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा ९० वर्षको उमेरमा भयो । उनी बीपी कोइराला लगायतका नेताहरूसँग निकट रहेर काम गरेका थिए ।
शास्त्री २०४८/२०५१ मा अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए र उनी उद्योग र श्रममन्त्री पनि बनेका थिए ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयले आज विज्ञप्ति निकालेर शास्त्रीको पार्थिव शरीर असार ४ गते बिहान ९ः ०० बजेदेखि ११ः ०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने जानकारी दिएको छ ।
केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्वसदस्य, पूर्वमन्त्री शास्त्रीको काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचारका क्रममा ९० वर्षको उमेरमा आज बिहान निधन भएको जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, शास्त्रीले कांग्रेसको राजनीतिमा बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालगायतका नेताहरूसँग निकटमा रहेर काम गरेको थिए । प्रजातन्त्र पुनस्स्थापनाको सङ्घर्षका क्रममा भारतको वनारस र गोरखपुरमा लामो समय प्रवासी जिवन बिताएका शास्त्री आम निर्वाचन २०४८/२०५१ मा अर्घाखाँची निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
उनका ‘मेरो जीवन र अनुभूति’ नामक पुस्तक प्रकाशित छन् । उनी उद्योग र श्रममन्त्री बनेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवाले शास्त्रीको निधनमा श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेको कांग्रेसको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्