छ्याङ्दी हाइड्रोपावरको हकप्रदमा असार १२ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं,२ असार । छ्याङ्दी हाइड्रोपावर जेठ २३ गतेबाट निष्काशन गरेको शत प्रतिशत हकप्रद शेयरमा असार १२ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले हाल कायम चुक्तापुँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँबराबरको १ः१ अनुपातमा हकप्रद शेयर बिक्री खुला गरेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर जारी गरेको छ ।

यस हकप्रदमा शेयरधनीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनले तोकेका शाखाहरुबाट र सीडीएससीको मेरो शेयरबाट अनलाइनन आवेदन दिन सक्नेछन्।

कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि जेठ २ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । जेठ १ गतेसम्म कायम शेयरधनीहरुले मात्रै यो कम्पनीको हकप्रद शेयरमा खरिद आवेदन दिन पाउनेछन्।

कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्