इरानद्वारा इजरायलमाथि मिसाइल आक्रमण, ४० जना घाइते
काठमााडौं, ३१ जेष्ठ । इरानले इजरायलमाथि ठूलो संख्यामा ब्यालिस्टिक मिसाइल आक्रमण गरेको जनाएको छ। यो हमला तेहरानका आणविक स्थलहरू र सैनिक नेताहरूमाथि इजरायली आक्रमणको प्रतिशोधमा गरिएको हो।
शुक्रबार राति तेल अभिभ र जेरुसलेममा विस्फोटको आवाजहरू सुनिएको थियो र इजरायलभरि साइरन बजाइएको थियो। इरानले यस अपरेशनलाई ‘ट्रू प्रमिस ३’ नाम दिएको छ।
इजरायलले शुक्रबार बिहानै इरानका वरिष्ठ वैज्ञानिकहरू, सैन्य कमाण्डरहरू र आणविक सुविधाहरूलाई लक्षित गरी अभूतपूर्व हमला गरेको थियो। इरानी सर्वोच्च नेता अली खामेनीले इजरायलको आक्रमणले ‘युद्धको सुरुआत’ गरेको बताउँदै ‘हिट एण्ड रन’ रणनीति अपनाएर सजिलै उम्कन नदिने चेतावनी दिए।
हालैका आक्रमणहरूमा इजरायलमा कम्तीमा ४० जना घाइते भएका छन् । उनीहरूलाई इजरायलका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। तीमध्ये दुई जनाको अवस्था गम्भीर छ।
तेल अभिभको इचिलोभ अस्पतालमा १८ जनाको उपचार भइरहेको छ। पेताह टिक्वाको बेलिन्सन अस्पतालमा ७ जनालाई भर्ना गरिएको छ, जसमा एक जना गम्भीर अवस्थामा छन्।
रामत गानको शेबा अस्पतालमा १५ जना उपचारमा छन्, तीमध्ये एक गम्भीर छन्। घाइतेहरूमा केहीलाई छर्राबाट चोट लागेको छ, केहीलाई धुवाँको कारण सास फेर्न गाह्रो भएको छ र केही मानसिक आघातमा परेका छन्।
इजरायली सेनाका प्रवक्ता अविचाय अड्रायीले बताएअनुसार इरानले दुई चरणमा करिब १०० वटा मिसाइल प्रक्षेपण गरेको थियो। अधिकांश मिसाइलहरू अवरोध गरिएको वा लक्षित ठाउँसम्म नपुगेको उनले बताए।
उनका अनुसार, ‘केही भवनहरूमा क्षति पुगेको छ, तीमध्ये धेरैजसो अवरोध गर्दा छुटेका छर्राले क्षति पुर्याएका हुन्।’ तस्बिरहरुमा केही भवनहरूमा गम्भीर क्षति पुगेको देखिन्छ छ।
बीबीसी÷अलजजिरा
प्रतिक्रिया दिनुहोस्