मलेसिया जाने कामदारको पूर्व श्रम स्वीकृति एक सातादेखि ठप्प, कामदार अन्योलमा

काठमाडौं।  मलेसिया जाने कामदारमाथि विभिन्न बहानामा भइरहेको ठगी रोक्न सरकारले गरेको पछिल्लो निर्णयसँगै एक सातादेखि त्यहाँ जाने कामदारको पूर्व श्रम स्वीकृति रोकिएको छ।

पूर्व श्रम स्वीकृति रोकिएपछि मलेसिया जाने कामदार अन्योलमा परेका छन्। वैदेशिक रोजगार श्रम ताहाचाल कार्यालयले शूक्रबारदेखि पूर्व श्रम स्वीकृति वितरण नगरिएको जनाएको छ।

सरकारी निर्णयसँगै भीसा प्रक्रिया पूरा भइसकेका कामदार बाहेक नयाँ रोजगारीमा मलेसिया जाने कामदारले पूर्व श्रम स्वीकृतिका लागि आवेदन भर्न पाएका छैनन्। उनीहरुको भीसा प्रक्रिया रोकिएको छ।

अब पहिला नै भीसा लागिसकेका कामदार बाहेक तत्कालै मलेसिया जान पाउने अवस्था छैन।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्व श्रम स्वीकृति रोकेको विषयमा औपचारिक निर्णय सार्वजनिक भने गरेको छैन। मन्त्रालयले जीएसजी, माइग्राम्स, बायोमेटिक, ओएससी, भीएलएन खारेज गरेपछि पूर्व श्रम स्वीकृति बन्द भएको थियो। यो विषयमा मन्त्रालय मलेसिया सरकारको निर्णय कुरेर बसेको छ।

जसका कारण रोजगारीका लागि मलेसिया जाने कामदारमा अन्योल छाएको छ। मन्त्रालयको निर्णयले मलेसियाको रोजगारी नै बन्द हुने कि भनेर कामदार सशंकित भएका छन्।

प्रतिक्रिया दिनुहोस्