वाणिज्य बैंकको नाफा घट्दो, नाफा धेरै कमाउनेमा नबिल र ग्लोबल आएमईको चर्को प्रतिस्पर्धा

काठमाडौं, ३० जेष्ठ । चालु आवको बैशाखमसान्तसम्म २० वटा वाणिज्य बैंकले ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ खुद मुनाफा गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा १ दशमलब ७ प्रतिशतले कम हो ।

गत वर्षको सोही अवधिमा २० वटा वािणज्य बैंकले ४८ अर्ब ६० करोड ६८ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो । २० वटा वाणिज्य बैकमध्ये १० वटा बैंकको खुद मुनाफा अघिल्लो वर्षको बैशाखको तुलनामा बढेको छ भने १० वटा बैंकको खुद मुनाफा गत वर्षको तुलनामा घटेको छ । सबैभन्दा धेरै खुद मुनाफा नेपाल बैंकको ४ सय ५७ प्रतिशतले बढेको छ । गत वर्षको बैशाखमा ५९ करोड ३ लाख रुपैयाँ खुद मुनाफा गरेको नेपाल बैंकले चालु आवको बैशाखसम्ममा भने ३ अर्ब २८ करोड ८८ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३३ प्रतिशतले नाफा वृद्धि गरेर ५ अर्ब २ करोड, एभरेष्ट बैंकले ३१ प्रतिशतले नाफा वृद्धि गरेर ३ अर्ब ९० करोड, ग्लोबल आईएमई बैंकले झन्डै ३० प्रतिशतले नाफा वृद्धि गरेर ५ अर्ब ३५ करोड तथा माछापुच्छ्रे बैंकले १८ दशमलब ७ प्रतिशतले नाफा वृद्धि गरेर १ अर्ब ३१ करोड रुपैयाँ पुर्याएका छन् ।

यता लक्ष्मी सनराइज बैंकले १० दशमलब २ प्रतिशतले नाफा वृद्धि गरेर २ अर्ब १५ करोड रुपैयाँ, सानिमा बैंकले ७ दशमलब १ प्रतिशतले नाफा वृद्धि गरेर १ अर्ब ८७ करोड रुपैयाँ, एनएमबी बैंकले ५ दशमलब ६ प्रतिशतले नाफा वृद्धि गरेर २ अर्ब ६२ करोड रुपैयाँ, नबिल बैंकले २ दशमलब नाफा वृद्धि गरेर ५ अर्ब ६० करोड र सिद्धार्थ बैंकले १ दशमलब ७ प्रतिशतले नाफा वृद्धि गरेर २ अर्ब १ करोड रुपैयाँ पुर्याएका छन्।

१० वटा नाफा घटेका बैंकमध्ये सबैभन्दा बढी एनआईसी एसिया बैंकको ७७ दशमलब १ प्रतिशतले गत वर्ष भन्दा नाफा घटेर ४७ करोड ८७ लाखमा सिमित भएको छ । गत वर्ष बैशाखमा एनआईसी एसिया बैंकले २ अर्ब १६ करोड ३२ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो ।

त्यस्तै हिमालयन बैंकको नाफामा ६९।३ प्रतिशतले नाफामा गिरावट आई ६८ करोड ३४ लाखमा सिमित भएको छ भने कुमारी बैंकको पनि ६६ दशमलब ३ प्रतिशतले नाफामा गिरावट आई ४८ करोड १९ लाख रुपैयाँमा सीमित भएको छ ।

यता कृषि विकास बैंकको बैंकको ३५।७ प्रतिशतले नाफामा गिरावट आई १ अर्ब ७३ करोड ३८ लाख रुपैयाँमा सीमित भएको छ भने अर्को सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमा पनि ३०।९ प्रतिशतले गिरावट आई १ अर्ब ७७ करोड रुपैयाँमा सीमित भएको छ । सिटिजन्स बैंकको नाफा २१ दशमलब ४ प्रतिशतले घटेर १ अर्ब १८ करोड रुपैयाँ, प्रभु बैंकको नाफा २०।१ प्रतिशतले घटेर २ अर्ब १४ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकको नाफा १९ दशमलब ८ प्रतिशतले घटेर २ अर्ब ५८ करोड रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकको नापा १२ प्रतिशतले घटेर २ अर्ब ३४ करोड रुपैयाँ र नेपाल एसबीआई बैंकको नाफामा २ दशमलब ९ प्रतिशतले गिरावट आएर २ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ।

नाफाको आकारको आधारमा भने नबिल बैंकले बैशाखसम्ममा सबैभन्दा धेरै ५ अर्ब ६० करोड रुपैयाँ खुद मु्नाफा गरेको छ । त्यसलाई क्रमशः ग्लोबल आईएमई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक र नेपाल बैंकले पछ्याएको छ । चालु आवको बैशाखसम्म नबिल,ग्लोबल आईएमई र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक गरी ३ वटा बैंकका नाफा ५ अर्बभन्दा माथि देखिएको छ भने एभरेष्ट, नेपाल बैंकको नाफा भने ३ अर्बमाथि देखिएको छ । एनएमबी, प्राइम, स्ट्यान्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज, सिद्धार्थ र प्रभु बैंकको नाफा भने २ अर्ब भन्दा माथि रहेको छ । १ अर्बदेखि २ अर्बको बीचमा नाफा कमाउने बैंकमो सानिमा, राष्ट्रिय वाणिज्य, कृषि विकास, नेपाल एसबीआई, माछापुच्छ्रे र सिटिजन्स बैंक रहेका छन् । हिमालयन, कुमारी र एनआईसी एसिया बैंकको नाफा भने १ अर्ब पनि छुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्