अहमदावादमा एयर इन्डियाको जहाज दुर्घटनामा २४१ जनाको मृत्यु भएको पुष्टि, एक जना उछिट्टिएर बाँच्न सफल
काठमाडौं, ३० जेष्ठ । बिहिबार भारतको अहमदावादमा एयर इन्डियाको जहाज दुर्घटना हुँदा २४१ जनाको मृत्यु भएको छ । एयर इण्डिया आफैंले सोसल मिडिया एक्समार्फत् यो जानकारी दिएको हो ।
घटनास्थलको अवलोकन गरेका भारतीय गृहमन्त्री अमित शाहले पनि विमानमा रहेका कुल २४२ जनामध्ये एक जना मात्र बँचेको र उनीसँग आफूले कुराकानी गरेको जानकारी पत्रकारहरुलाई दिएका छन् ।
विहीबार दिउँसो भारतीय समय अनुसार २ बजेर ३८ मिनेटमा अहमदावादबाट बेलायतको लण्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७.८ विमान २ बजेर ४० मिनेटमै खसेर आगो लागेको थियो ।
टाटा कम्पनीको स्वामित्वको सो विमानमा २३० यात्रु र १२ जना ‘क्रु मेम्बर’ (चालक दलका सदस्य) हरु थिए । एक जना यात्री भने उछिट्टिएर बाँच्न सफल भएका छन् । उनको उपचार जारी छ । ती यात्री भारतीय मूलका ब्रिटिश नागरिक हुन् ।
घटनास्थलको अवलोकन गरेका गृहमन्त्री अमित शाहले पत्रकारहरुसँग भनेका छन्, ‘सवा लाख लिटर इन्धन भएकाले आगो यति भयानक थियो कि एक यात्री बाहेक अरु सबैको मृत्यु भएको छ र लगभग सबैको शव संकलनको काम सकिएको छ ।’
उनले शवहरुको डीएनए टेस्ट गरेर मृतक संख्याको आधिकारिक घोषणा गरिने बताएका छन् ।
यो दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीको पनि मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
यसैबीच टाटा कम्पनीले विमान दुर्घटनामा मृत्यु भएका सबै यात्रुका परिवारलाई जनही एक करोडको दरले क्षतिपूर्ति दिने र घाइतेहरुको निःशुल्क उपचार गरिदिने जनाएको छ । विमान ठोक्किएर क्षतिग्रस्त भएको घर पुनर्निर्माण गरिदिने घोषणा पनि टाटाले गरेको छ ।
विमान दुर्घटनाबाट भएको जनधनको क्षतिप्रति भारतीय राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न दलका नेतादेखि अमेरिकी, बेलायत, क्यानडा, बंगलादेश, पाकिस्तान, मालदिभ्स, नेपाल लगायतका देशका सरकारसम्मले शोक व्यक्त गरेका छन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्