एयर इन्डियाको दुर्घटनाग्रस्त विमानमा नेपाली नागरिक नरहेको खुलासाः दूतावास

काठमाडौं, २९ जेष्ठ । लण्डन जाँदै गरेको एयर इण्डियाको विमानमा सवार २४२ जना मध्ये कोही पनि नेपाली नागरिक नरहेको खुलेको छ ।

विमान दुर्घटना भएलगत्तै नेपाली नागरिक समेत सवार हुनसक्ने आशंकामा दिल्लीस्थित नेपाली दूतावासले भारतीय अधिकारीहरुसँग समन्वय गरेको थियो ।

दूतावासका कन्सुलर सन्जिव शर्माले अनलाइनखबरसँग भने, ‘त्यस क्रममा भारतीय अधिकारीहरुले विमानमा नेपाली नागरिक नरहेको जानकारी गराएका छन् ।’ उनका अनुसार भारतीय अधिकारीहरुले विमानमा सवारहरुको सूची समेत पठाएका छन् ।

सूची अनुसार विमानमा भारतीय, बेलायती, क्यानेडियन र पोर्चुगिज नागरिकहरु सवार थिए ।

अहमदाबाद विमानस्थलबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान उडान भरेको केही मिनेटमै दुर्घटनाग्रस्त भएको थियो ।

बोइङ ७८७–८ ड्रीमलाइनर विमानमा २४२ यात्रु सवार थिए । दुर्घटनाको कारण खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्