अमेरिका चीनसँग झुकेसँगै दुई देशबीच नयाँ व्यापार सम्झौता

काठमाडौं, २९ जेष्ठ । गत जनवरीमा डोनाल्ड ट्रम्पले राष्ट्रपति पद सम्हालेदेखि नै शुरु भएको अमेरिका चीन व्यापार युद्ध समाधान हुने सम्भावना बढेको छ ।

दुई देशका वरिष्ठ अधिकारीहरूबीच बेलायतको लन्डनमा भएको दुई दिन लामो वार्ताको क्रममा अमेरिका चीनसँग झुकेपछि दुवै देशबीच नयाँ व्यापार सम्झौता हुन लागेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

उनीहरुका अनुसार अमेरिका र चीन जारी व्यापार तनाव मत्थर पार्ने गरी एक सैद्धान्तिक सहमति गरिसकेका छन् । अब दुवै पक्षले अब ती सहमतिका मस्यौदालाई आ–आफ्ना राष्ट्रपति (डोनाल्ड ट्रम्प र सी जिनपिङ) समक्ष अनुमोदनका निम्ति पेश गर्ने र उनीहरुले अनुमोदन गरेपछि सम्झौताको कार्यान्वयन शुरु हुनेछ । त्यसपछि दुवै देशले एक अर्को देशका सामानहरुमा लगाएको अतिरिक्त करलाई पुरानै अवस्थामा फर्काइने बताइएको छ ।

अहिले भएका सहमति अनुमोदन भए त्यसले रेयर अर्थ अर्थात दुर्लभ खनिज तथा चुम्बकहरूको आपूर्तिबारेका चिन्ता समाधान हुने अमेरिकी वाणिज्यमन्त्री हावर्ड लुटनीकले बताएका छन् । उनले चीनले रेयर अर्थमा प्रतिवन्ध लगाएपछि अमेरिकाको प्रविधि उद्योगमा परिरहेको असरलाई मध्यनजर गर्दै चीनसँगको वार्तामा अमेरिका लचिलोरुपमा प्रस्तुत भएको जानकारी दिए । उनको त्यो भनाईले पनि उक्त वार्ताको क्रममा चीनसँग अमेरिका झुकेको पुष्टि हुने दावी विश्लेषकहरुले गरेका छन् ।

स्मरणरहोस् स्मार्टफोनदेखि विद्युतीय गाडीसम्म आधुनिक प्रविधियुक्त उपकरण निर्माणमा ती वस्तु अत्यावश्यक मानिन्छन् र तिनको उत्खनन र प्रशोधनमा चीन विश्वकै अग्रणी रहँदै आएको छ । व्यापार युद्धको क्रममा चीनले ती पदार्थ निर्यातमा प्रतिवन्ध लगाएपछि अमेरिकाको प्रविधि उद्योगमा हाहाकार मच्चिएको छ । मोबाइल फोनको निर्माणदेखि अन्तरिक्ष यानको निर्माणसम्म प्रभावित भएका छन् ।

त्यसपछि अमेरिकाले चीनसंग व्यापार सम्झौताको पहल शुरु गरेको थियो । त्यसैक्रममा दुई देशका राष्ट्रप्रमुखहरूबीच जुन ५ मा टेलिफोन वार्ता भएको थियो । त्यहीक्रममा अहिले भएको सहमती संगै दुवै देशका राष्ट्रपतिहरु बीच फेरि वार्ता हुनसक्ने बताइएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले आफू चीन जान उत्सुक रहेको बताउंदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्