अस्ट्रियाको एक विद्यालयमा अन्धाधुन्ध गोली चलाएर पूर्वविद्यार्थीले गरे १० जनाको हत्या

काठमाडौं,२८ जेष्ठ । अस्ट्रियाको एक माध्यमिक विद्यालयमा भएको गोली काण्डमा ११ जनाको ज्यान गएको छ ।

मंगलबार अस्ट्रियाको ठूलोमध्येको सहर ग्राजमा रहेको बर्ग ड्रायर्सुट्जेनगासे स्कुलमा भएको गोलीकाण्डमा ११ जनाको मृत्यु भएको हो ।

मंगलबार बिहान १० बजे उक्त विद्यालयमा प्रवेश गरी २१ वर्षीय युवकले अन्धाधुन्ध गोली चलाएका थिए । दुई वटा कक्षाकोठामा गोली चलाएर उनले १० जनाको हत्या गरेको धेरै विद्यार्थीलाई घाइते बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

आर्टुर ए। नाम गरेका एक ती विद्यार्थी एउटा सटगन र एउटा पेस्तोल बोकेर कक्षाकोठा छिरेका थिए । त्यसपछि अन्धाधुन्ध गोली बर्साउन थालेका थिए ।

विद्यालयमा गोली चलेपछि घटनास्थलमा तत्काल ३०० जनाभन्दा बढी प्रहरी र एम्बुलेन्सहरू परिचालन गरिएका थिए । घाइतेहरूलाई तत्काल अस्पताल र्पुयाएको भए पनि एक जनाको उपचारकै क्रममा मृत्य भएको विभिन्न सञ्चारमाध्यमहरूले जनाएका छन्। ती गोली चलाउने युवक पछि शौचालयमा मृत भेटिएको थिए ।

घटनास्थलमै ९ जनाको हत्या गरेपछि उस्ले आफूमाथि गोली चलाएका थिए भनेर अन्तर्राष्ट्रियस समाचार संस्था रोयटर्सले जनाएको छ

प्रहरी अनुसन्धानका अनुसार घटनामा उनी एक्लै संलग्न थिए। उनले गोली चलाउनुको कारण र उद्धेश्य अझै नखुलेको रोयटर्सले जनाएको छ।

स्थानीय सञ्चारमाध्यमहरूले सो विद्यालयमा पढ्दा उनीमाथि होच्याउने, जिस्क्याउने गरेर उनीमाथि अपमान गरिएको भन्ने उल्लेख गरिएको छ।

प्रहरीले यसबारेमा थप अनुसन्धान गरिरहेको छ । यो अस्ट्रियामा भएको अहिलेसम्मकै ठूलो गोलीकाण्ड भनिएको छ ।

सन् २०२० मा भियनाको केन्द्रमा एक जिहादीले गरेको गोलीकाण्डमा चार जनाको मृत्यु र २२ जना घाइते भएका थिए । त्यसअघि सन् १९९७ मा माउटनफोर्डमा एक ३६ वर्षीय मेकानिकले ६ जनालाई गोली हानेर हत्या गरी आफूले पनि आत्महत्या गरेका थिए ।

अस्ट्रियाका चान्स्लर क्रिश्चियन स्टकरले गोलीकाण्ड इतिहासकै कालो दिन रहेको बताएका छन्। उनले देशभरि बुधबारदेखि तीन दिन शोक घोषणा गरेका छन्।

विश्वभरका सरकार प्रमुखहरु र शान्ति अभियन्ताहरुले यस घटनाबारे दुःख व्यक्त गरेका छन्। ।

प्रतिक्रिया दिनुहोस्