बेलिब्रिज जडानपछि कान्ति राजमार्ग आज बिहानदेखि सञ्चालनमा
काठमाडौं, २५ जेष्ठ । बागमती नदीको बगुवा खोलामा बेलिब्रिज राखेपछि कान्ति राजमार्ग आज बिहानदेखि सञ्चालनमा आएको छ ।
मकवानपुर र ललितपुरलाई जोड्ने स्थानमा गएराति बेलिब्रिज जडान कार्य सम्पन्न भएपछि पुलबाट सवारी साधन चल्न थालेका हुन् । कान्ति राजमार्ग सडक आयोजनाका प्रवक्ता ई। उपेन्द्र महरानका अनुसार आज बिहान ९ बजेदेखि पुल पूर्णरुपमा सञ्चालनमा आउने छ ।
गत वर्ष असोजमा आएको बाढीले पुलको मकवानपुरतर्फको भाग भत्काएपछि डाइभर्सनमार्फत् सवारी साधन सन्चालन हुँदै आएका थिए । तर डाइभर्सन गरिएको स्थानमा राखिएका ह्युमपाइप सानो बाढीले पनि बगाइदिने गरेकाले यात्रा अप्ठेरो हुने गरेको थियो ।
हालै बेलिब्रिज जडान गर्नका लागि चार दिनसम्म डाइभर्सनबाट पनि यात्रा गर्न रोक लगाइएको थियो । बेलिब्रिज जडान कार्य सम्पन्न भएर गाडी पनि चल्न थालिसकेकाले अब कान्ति राजमार्गमा यात्रा सहज हुने अपेक्षा छ ।
बेलिब्रिजकोे भारबहन क्षमता ३० टन मात्र रहेको छ ।
कान्ति राजमार्ग सडक आयोजनाका प्रवक्ता ई.उपेन्द्र महरानका अनुसार बेलिब्रिजको भारबहन क्षमता ३० टन मात्र छ ।
त्यसैले सडक आयोजनाले मकवानपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर दुवैतर्फ मालबाहक सवारी साधनलाई निगरानी गर्न अनुरोध गरेको छ ।
मालवाहक सवारी ९ट्रकरट्रेलर० को हकमा एक पटकमा एकतर्फी गुडाउनुका साथै अधिकतम कुल वजन ३० टन र अधिकतम प्रतिएक्सल वजन १० टनमात्र हुने गरी सवारी साधन सञ्चालनको प्रबन्ध मिलाइएको प्रवक्ता महरानले बताए ।
‘१२ चक्के ट्रक खाली छ भने बेलिब्रिजले धान्छ तर भारी बोकेको १२ चक्के गाडीलाई धान्दैन,’ प्रवक्ता महरानले भने ‘त्यसैले दुवै जिल्लाका सिडियो कार्यालयलाई पनि त्यो जानकारी गराएका छौं ।’
प्रतिक्रिया दिनुहोस्