प्रतिनिधिसभाको बैठक आज बस्दै, बैठक सञ्चालन हुन सक्छ या सक्दैन अन्योल कायमै
काठमाडौं, २५ जेष्ठ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने गरी समय निर्धारण गरिएको छ ।
प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसद्को बैठक पछिल्ला दिनहरूमा नियमित सञ्चालन हुन सकेको छैन । संसदको कार्यसूची भएता पनि कार्यसूचिमा प्रवेश गर्न सकेको छैन ।
‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका विपक्षी दलहरूले लगातार संसद बैठक अवरुद्ध गर्दै आएका छन् । सोही कारण बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न नसकेको हो ।
संसद अवरोध खुलाउने प्रयासमा दलहरुबीच छलफल भइरहे पनि निष्कर्षमा पुगेको छैन ।
यदि आज अवरोध खुल्न सके भने उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२र८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ । आजको बैठक सञ्चालन हुन सक्छ या सक्दैन अन्योल छ ।
प्रतिक्रिया दिनुहोस्